गुण र सौर्य एयरलाइन्सले दिए लाइसेन्स नवीकरणका लागि आवेदन



काठमाडौं । दुईवटा अन्तरिक वायुसेवाको पाँच वर्षे इजाजतपत्रको अवधि सकिएकोले नवीकरणका गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन परेको छ । पर्यटन मन्त्रालमा गुण एयरलाइन्स र सौर्य एयरलाइन्सले इजाजतपत्र नवीकरणका लागि निवेदन दिएका हुन् ।

हाल सञ्चालनमा रहेको सौर्य एयरलाइन्सले पर्यटन मन्त्रालयबाट लिएको वायुसेवा सञ्चालन इजाजपतत्रको अवधि यही साउन २५ गते सकिँदै छ । इजाजतपत्रको अवधि नसिकिँदै नवीकरण गर्न यो वायुसेवाले पर्यटन मन्त्रालयमा निवदेन दिएको हो ।

इजाजतपत्रको अवधि सकिएपछि उडान गर्न नपाउने भएकोले त्यसअघि नै इजाजतपत्र नवीकरण गराउनुपर्छ । निजी क्षेत्रको नियमित उडानको वायुसेवा कम्पनी सौर्यले सीआरजे जहाजमार्फत काठमाडौंबाट विभिन्न सहरी क्षेत्रका विमानस्थलमा सेड्युल उडान गर्छ । यो भद्रपुर, भैरहवा, विराटनगर, धनगढी र पोखरामा उडान गर्ने गर्छ । यो वायुसेवासँग हाल ५० सिट क्षमताको सीआरजे २०० नामक एउटा मात्रै जहाज भएकोले यसका उडान गन्तव्य सीमित छन् ।

आन्तरिक उडानमा फेरि तयारी थालेको गुण एयरलाइन्सले पनि इजाजतपत्रको नवीकरणका लागि पर्यटन मन्त्रालयमा आवेदन दिएको छ । २०७९ फागुनबाट उडान बन्द गरेको यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम चुक्ता गरेको र कर्मचारी दायित्वसमेत पूरा गरेर फेरि सञ्चालनको तयारीमा छ ।

यो वायुसेवाले पर्यटन मन्त्रालयबाट लिएको सञ्चालन इजाजतपत्रको अवधि २०८० वैशाखमै सकिएको थियो । मन्त्रालयबाट इजापत्र नवीकरण नभएका कारण यसले उड्डयन प्राधिकरणबाट लिनुपर्ने उडान सञ्चालन अनुमतिपत्र (एओसी)समेत निलम्बनमा परेको छ । आवश्यक प्रक्रिया पूरा गरेर एओसी लिने र भएको जहाजमध्ये पहिलो चरणमा २ वटा उडाउने तयारी गुण एयरलाइन्सले गरेको छ ।

गुणसँग हाल ७ वटा जहाज छन् । यी मध्ये ५ वटा जेटस्ट्रीम नामक जहालाई बिक्री गरेर एटीआर ७२ नामका ठूला जहाज ल्याउने तयारी गरिरहेको छ । यो वायुसेवाले आन्तरिक उडानका सहरी क्षेत्रका विमानस्थलमा नियमित सेड्युल फ्लाइट गर्ने छ ।


क्लिकमान्डु