साउनमा हरियो-पहेँलो चुरा पोतेको खपत: ११ महिनामा साढे ४५ करोडको चुरा, १७ करोडको पोते आयात



काठमाडौं । साउन महिना लागेसँगै महिलाले हातमा हरियो र पहेँलो चुरा तथा गलामा पोते लगाएको देख्न सकिन्छ । धार्मिक रुपमा भगवान शिवको महिनाको रुपमा लिइने साउन भर यी रंगका चुरा पोते र कपडाहरुको खपत बढ्ने गरेको छ । चुरो पोते बेच्ने पसलहरुमा यो महिनाभर अधिकांश हरियो पहेँलो रंगको चुरा पोतेको माग उच्च हुने गरेको छ ।

पछिल्लो ११ महिनाको अवधिमा साढे ४५ करोडको चुरा र बिन्दी (टिका)नेपालमा आयात भएको छ ।

नेपालमा भारत, चीन, हङकङ, इन्डोनेशिया, थाइल्याण्ड, अमेरिकाबाट सिसा र प्लास्टिकबाट तयार भएको विभिन्न प्रकारको चुरा, टिका र टिकुली आयात भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनाको अवधिमा ४५ करोड ४४ लाख ६६ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ४४ हजार ८ सय ९६ दर्जन सिसा र प्लास्टिकबाट निर्मित चुरा, टिका, टिकुली नेपालमा भित्रिएको छ ।

तथ्यांकअनुसार ११ महिनाको अवधिमा सबैभन्दा बढी भारतबाट ४५ करोड १९ लाख ९८ हजार रुपैयाँबराबरको चुरा, टिका र टिकुली आयात भएको छ । यसपछि चीनबाट २४ लाख १२ हजार रुपैयाँको आयात भएको छ । हङकङ, इन्डोनेशिया, थाइल्याण्ड र अमेरिकाबाट सीमित परिमाणमा मात्रै आएको छ ।

यस्तै १७ करोड रुपैयाँ बराबरको ४ लाख १२ हजार ६ सय १ किलो विभिन्न प्रकारको सिसाबाट निर्मित पोते नेपालमा आयात भएको छ । पोते सबैभन्दा बढि चीन र भारतबाट आयात भएको छ । चीनबाट ११ करोड ६८ लाख ७८ हजार रुपैयाँबराबरको २ लाख ८० हजार ८ सय २२ किलो विभिन्न आकर्षक रंग र डिजाइनमा आयात भएको छ ।

यसैगरी भारतबाट २ करोड ४६ लाख ८६ हजार रुपैयाँबराबरको १ लाख १३ हजार ८ सय ४८ किलो पोते आयात भएको छ । तेश्रोमा जापानबाट १ करोड ९७ लाख ४४ हजार रुपैयाँबराबरको ४ हजार ४ सय १९ किलो पोते आयात भएको हो । यसपछि चेक रिपव्लिकबाट ९८ लाख १५ हजार रुपैयाँबराबरको १३ हजार ३ सय ७८ किलो आयात भएको छ । थोरै परिमाणमा हङ्गकङ्ग, मलेसिया, नेदरल्याण्ड र पाकिस्तानबाट पनि आयात भएको हो ।

साउन महिनामा हरियो रंगको चुरा, टिका, पोते, नेल पोलिस र हातमा मेहन्दी लगाएपछि श्रीमान र हुने श्रीमानको आयु लामो हुने विश्वासका साथ हिन्दु धर्म मान्नेहरु यो महिनामा यस्तो रंगको चुरा, टिका, पोते, नेल पालिस र मेहन्दी लगाउँछन् । यसले गर्दा यो महिनामा यस्ता सामग्रीको अत्यधिक खपत र बिक्रीसमेत हुन्छ ।

साढे चार करोडको नेल पोलिस

तथ्यांक अनुसार पछिल्लो ११ महिनाको अवधिमा नेपालमा विभिन्न मुलुकबाट ४ करोड ५६ लाख २८ हजार रुपैयाँबराबरको १८ हजार ३ सय ९३ लिटर नेल पोलिससमेत आयात भएको छ ।

सबैभन्दा बढी चीनबाट २ करोड ५० लाख ९० हजार रुपैयाँ बराबरको १२ हजार ३ सय ५८ लिटर नेल पोलिस आयात भएको छ । यसपछि भारतबाट १ करोड ३१ लाख ५८ हजार रुपैयाँबराबरको ४ हजार ६ सय ६९ लिटर नेल पोलिस आयात भएको हो ।

चीन र भारतबाहेक फ्रान्स, इटली, ताइवान र टर्कीबाट पनि सामान्य परिमाणमा यस्तो नेल पोलिस आयात भएको छ ।


क्लिकमान्डु