उद्धार उडानमा हेलिकप्टरको सहुलियत भाडा तोक्ने तयारी



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार उडानमा हेलिकप्टरले लिने भाडादरको सीमा तोक्ने तयारी गरेको छ ।

आकस्मिक उद्धार उडानमा हेलिकप्टर लिन पाउने अधिकतम भाडादरको सीमा तोक्ने र प्राकृतिक प्रकोपसहितको उद्धार उडानमा भने न्यूनतम भाडादर मात्रै लिने विषयमा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पान्डेले सरोकारवालासँग छलफलको तयारी गरेका छन् ।

मन्त्री पान्डेले बिहीबार बिहान हेलिकप्टर सञ्चालक तथा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हेलिकप्टरले लिने भाडा र आकस्किम उद्धारको विषयमा छलफल गर्ने भएका छन् ।

प्राकृतिक प्रकोप, बाढी, पहिरोसहितको विपदका बेला लिने भाडामा पीडितलाई थप पीडा नदिन भन्दै सहुलियतमा उडान गर्न आग्रह गर्नेसहितको सीमा तोक्ने विषयमा छलफल केन्द्रित हुने मन्त्री पान्डेले बताएका छन् ।

‘विपदको समयमा सबै हेलिकप्टरको भाडामा एकरुपता होस्, सर्वसाधारणले अधिक रकम तिर्नु नपरोस् भन्ने विषयमा मन्त्रालयले चासो राखेको छ । यो विषयमा थप स्पष्ट हुन र आवश्यक निर्देशनका लागि सम्बन्धित सरोकारवालासँग छलफल गर्न लागिएको हो,’ मन्त्री पान्डेले बताए ।


क्लिकमान्डु