नयाँ आर्थिक वर्षको दुई दिनमै नेप्सेमा १२४ अंकले बढ्यो, लगानीकर्ताले कमाए २ खर्ब



काठमाडौं । नयाँ आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा अर्धसतकीय सुधार छाएको छ । बुधबार नेप्से परिसूचक ५४ अंकले बढेको हो ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन नेप्से ७० अंकले बढेकामा दास्रो दिन ५४.०४ अंकले सुधार भएको हो ।

दुईदिनमा नेप्से १२४ अंकले बढ्दा लगानीकर्ताको कुल सम्पत्ति (बजार पुँजीकरण) १ खर्ब ९८ अर्ब ३१ करोड रुपैयाँले बढेको छ ।

कारोबारमा आएका २०४ कम्पनीको सेयर मूल्य बढेको दिन नेप्से २.३३ प्रतिशतले बढेको हो । यस दिन कारोबारमा आएका ३२ कम्पनीको भाउ घटे भने ६ वटाको यथावत रहे ।

तीमध्ये सबैभन्दा बढी मुल्य सेन्ट्रल फाइनान्सको बढेको छ । सेन्ट्रलको मूल्यमा पोजिटिभ सर्किट लाग्ला सिंगटी हाइड्रो, आँखुखोला जवि, मन्दाकिनी हाइड्रो र सीईबीडी हाइड्रोको मूल्य करिब १० प्रतिशतले बढेका छन् । यी ५ कम्पनीका सेयरधनीले सर्वाधिक कमाउँदा सिटिजन्स म्युचुअल फन्ड २ का इकाइधनीले सर्वाधिक गुमाए । सो फन्डको इकाइ मूल्य ९.९ प्रतिशतले घट्दा एनआईएमबी डिबेन्चर, एनआईबीएल स्टेबल फन्ड, केबीएल डिबेन्चर, एसबीएल डिबेन्चरका इकाइधनीले बढी गुमाउनेको शीर्ष ५ मा परे ।

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स १०.२५ प्रतिशतले बढेर ४१९.७७ अंकमा पुगेको छ ।

सेयर बजारमा भारी बहार छाएको दिन कारोबारमा पनि उत्साह छाएको छ । दिनभर १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएका छन् । सो क्रममा १ लाख ४९ हजार ६८१ कारोबारमार्फत् ३०६ स्क्रिप्टका ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएका छन् । मंगलबार बजार ९ अर्ब १३ करोडको कारोबार भएकामा ३ अर्बले बढेको हो ।

१२ अर्बको कारोबार भएकामा सबैभन्दा बढी सेयर सिंगटी हाइड्रोको भयो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर मिनिरल, हिमाल दोलखा जवि र अरुणभ्याली हाइड्रो शीर्ष ५ मा अटाए ।

नेप्से बढेको दिन सबै उपसमूहमा बहार छाएको छ । तीमध्ये सबैभन्दा बढी सुधार होटल समूहमा ५.५५ प्रतिशतको वृद्धि भएको छ भने फाइनान्स समूह ५.५ प्रतिशतले बढेको छ ।

नेप्से बढेको दिन सेयर बजारको कुल पुँजीकरण ३७ खर्ब ५१ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा लगानीकर्ताको कुल सम्पत्ति १ खर्ब ९ अर्बले बढेको हो ।

गत असार २३ गते ३३ खर्ब ८८ अर्ब रुपैयाँ रहेको लगानीकर्ताको कुल सम्पत्ति ९ कारोबार दिनमै करिब ४ खर्बले बढेको छ ।


क्लिकमान्डु