अर्थमन्त्रीलाई बैंकरको ब्रिफिङः कर्जा विस्तार हुन नसक्दा बजार चलायमान भएन



काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेको छ । मन्त्री पौडेलाई भेटी संघले बधाई तथा शुभकामना प्रदान गरेको हो ।

सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुर्‍याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ्ग क्षेत्रका चुनौतीका विषयमा जानकारी गराए । साथै, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिपेक्षमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरकार अग्रसर हुनुपर्ने धारणा राखे ।

भेटका क्रममा संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ सबै अग्रसर हुनु पर्ने बताए । मुख्यतः वर्तमान अर्थतन्त्रको प्रमुख चुनौतीको रुपमा आम मानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउँदै आर्थिक क्रियाकलापलाई बढाउने तर्फ सबै सरोकारवाला गम्भीर भएर लाग्नु पर्ने बताए ।

भेटको क्रममा अर्थमन्त्री पौडेलले सरकार सबैको अभिभावक भएको कारण सबैको समस्यालाई आत्मसाथ गर्दै समस्याको समाधानको लागि अग्रसर रहेको विश्वास दिलाए ।

उनले बैंकका कर्मचारी माथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको बताए । साथै, जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गईरहेको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको बताए । वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने भएकोले अर्थतन्त्रमा देखिएको राजनैतिक अस्थिरताको समस्या अन्त्य हुन गई अर्थतन्त्र चलायमान हुने विषयमा सबैलाई आशावादी हुन आग्रह पनि गरे ।


क्लिकमान्डु