डिजी हबको टिएमएसबाट सेयरकाे परीक्षण कारोबार सफल, बन्ला त वाईकोको विकल्प ?



काठमाडौं । डिजी हबको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) बाट सोमबार सेयर बजारमा पहिलो परीक्षण कारोबार सफलतापूर्वक सम्पन्न भएको छ ।

अहिलेसम्म वाईकोको टिएमएसमार्फत कारोबार गर्दै आएका सेयर ब्रोकर कम्पनीहरुले नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ गतेबाट डिजी हबको टिएमएसमार्फत परीक्षण कारोबार गरेका हुन् ।

पहिलो परीक्षण कारोबार सेक्योर्ड सेक्युरिटिजले गरेको हो । सेक्योर्ड सेक्युरिटिजका प्रमुख सन्तोष मैनालीले मंगलबार पहिलो पटक डिजी हबको टिएमएसमार्फत गरेको परीक्षण कारोबार सफल भएको बताए ।

आजको कारोबारको सुरुमा केहि र अन्तिम १०, १५ मिनेटमा पूर्ण रुपमा डिजी हबको टिएमएसबाट कारोबार गरेको उनले बताए ।

सेयर ब्रोकरहरु भने करिब तीन वर्षअघि देखि नै डिजी हबको टिएमएस कार्यान्वयनमा ल्याउन चाहन्थे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पनि डिजी हबको टिएमएसमार्फत परिक्षण कारोबार गर्न करिब १ वर्ष अघि नै अनुमति दिएको थियो । तर, केही प्राविधिक विषय मिलाउन बाँकी रहेका कारण परिक्षण गर्न १ वर्ष लागेको सेयर ब्रोकरहरु बताउँछन् ।

वाईको र डिजी हब दुवैको टिएमएस एकैपटक चलाउन नमिल्ने भएका कारण कर्मचारी र लगानीकर्ता तयार भएपछि एउटा मात्रै टिएमएस प्रयोग गर्ने मैनालीकाे भनाइ छ । परीक्षण कारोबार सफलतापूर्वक भएका कारण अब लाइभ जान सकिने देखिएको पनि उनले बताए ।

‘आज परीक्षण कारोबार सहजतापूर्वक भयो । अब लाईभमा जान सकिने देखियो,’ उनले भने, ‘अब यो सिस्टम सबै ब्रोकर कम्पनी, अन्यलाई सिकाउनु पर्यो । लगानीकर्तालाई पनि सिकाएपछि सबैले प्रयोग गर्ने छन् । लगानीकर्तामा जानु भन्दा पहिला ब्रोकरका कर्मचारीलाई पनि सिकाउन आवश्यक रहेको छ ।’

डिजीहब श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको टिएमएस हो । सम्भवत धेरै ब्रोकरले यही महिना भित्रै यो टिएमएसमार्फत कारोबार प्रयोग गर्न थाल्ने बताइएको छ ।

बजारमा हाल वाईको कम्पनीको टिएमएस मार्फत कारोबार भइरहेको छ । अब बजारमा औपचारिक रुपमा अर्को टिएमएस पनि भित्रिएको छ । विस्तारै सबै ब्रोकरले डिजी हबको टिएमएसमार्फत कारोबार गर्ने भए पनि हाल ३३ पुराना ब्रोकर र थप ४, ५ वटा ब्रोकर थपिएको मैनालीले बताए ।

डिजी हबको टिएमएसको आफ्नै मोबाइल एप समेत हुनेछ । यसले गर्दा लगानीकर्तालाई प्रयोग गर्न सहज हुनेछ ।


क्लिकमान्डु