चिनियाँ ईभीमा भन्सार शुल्क लगाउन स्पेन र इटालीको पनि समर्थन



एजेन्सी । चिनियाँ विद्युतीय सवारीलाई भन्सार शुल्क लगाउने युरोपियन युनियनको निर्णयलाई इटाली र स्पेनले पनि समर्थन गरेका छन् । युरोपियन युनियनले २७ वटै सदस्यराष्ट्रलाई निर्णय लिने अन्तिम डेडलाइन तोकेपछि यी दुई देशले युरोपियन युनियनको निर्णयमा समर्थन गरेका हुन् ।

सदस्य राष्ट्रहरुलाई युरोपियन युनियनको निर्णयमा समर्थन जनाउनै पर्ने बाध्यकारी नियम भने छैन । यद्यपि सदस्यराष्ट्रहरुको आर्थिक नीतिको नीरीक्षण गर्ने भएकाले ती देशको अन्तिम निष्कर्षलाई असर पार्नसक्छ । युरोपियन युनियनले भने चीनबाट आयात हुने विद्युतीय सवारीमा ३७.६ प्रतिशतसम्मको अस्थायी भन्सार शुल्क लगाउने निर्णय गरेको थियो ।

आयोगले चीनको विषयमा मतदान गराएकोमा दुई देशले आफ्नो निर्णय पेस गरेका हुन् । आयोगले भने मतदान गोप्य रहेको र नतिजा सार्वजनिक नगर्ने जनाएको छ । तर स्विडेनले मतदानमा सहभागी नहुने जनाएको छ । जर्मनीले पनि युरोपियन युनियनसँग आफ्नो आलोचनात्मक समर्थन रहेको जनाएको छ ।

यस्तै पोल्यान्डको विकास मन्त्रालयले भने यो विषय अझै पनि मन्त्रालयहरुबीच परामर्शको विषय रहेको जनाएको छ । ग्रीसले भने शनिबारसम्म पनि आफ्नो निर्णय लिन सकेको थिएन । एक दशकअघि यरोपियन युनियनका सदस्य राष्ट्रहरुले युनियनको समर्थन नगरेपछि चिनियाँ सौर्य प्यानलहरुमा भन्सार शुल्क लगाएको थिएन ।

यस्ता निर्णय लिने क्रममा युरोपियन युनियनले अनुसन्धानपछि सदस्यराष्ट्रहरुको सहमतिमा निर्णय लिने गर्छ र जुन ५ वर्षसम्मका लागि लागु हुन्छ । तर यदि युरोपियन युनियनले भन्सार शुल्क लगाउने विषयमा निर्णय गरेको खण्डमा सदस्यराष्ट्रहरु बाध्यकारी मतदानमा सहभागी हुनेगर्छन् ।

यदि सदस्यराष्ट्रहरुको बहुमत १५ वटा देशले विपक्षमा मतदान गरे निर्णय रोकिन्छ । यसपटक युरोपिय युनियनले चीनबाट आयात हुने टेस्ला, बीवाइडी, गिली र साइक जस्ता ईभीको आयातमा भन्सार ३७.६ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । चीनले भने यसविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएको छ ।


क्लिकमान्डु