नयाँ सरकार आएपछि सिंगै देशमा आशा, भरोसा जगाएको छः प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याविनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गरेका छन् ।

मंगलबार बालुवाटारस्थित सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले कठिनाईमा परेको जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने उल्लेख गर्दै आश्वस्त हुन सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘साथीहरुलाई म विश्वस्त, आश्वस्त र ढुक्क रहन म के आग्रह गर्न चाहन्छु भने यो सरकारले सुशासन र विकासको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रण र उन्मुलनको सन्दर्भमा, विकासको कामलाई अगाडि बढाउने सन्दर्भमा र जनतालाई अफ्ठयारो परेको बेला कठिनाईमा भएका जनतालाई हेर्ने कुरामा । यो तीन वटै पक्षमा सामाजिक क्षेत्र, विकासको क्षेत्र र साशन प्रशासनको क्षेत्र सबैतिर सकारात्मक देखिने गरी परिणाम आउने गरी काम गर्छ भन्ने कुरा विश्वस्त रहन म साथीहरुलाई आग्रह गर्न चाहन्छु । आज देशमा अलिकति परिवर्तन भएको छ ।

सरकार परिवर्तन भएको छ । सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन । सरकार समयसमयमा परिवर्तन भइरहन्छ । तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरुमा पनि जगाएको छ । र, सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु–नेपाली जनतामा जुन विश्वास जागेको छ । आशा, भरोसा जागेको छ । सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस भन्नका लागि । यस चिजमा मेरो ध्यान गएको छ । प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुुनका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ । र मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रीपरिषदलाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपांगता भएका व्यक्तिहरुका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस् ।

अथवा उद्योग व्यवसाय चलाउने व्यवसायीहरुको निम्ति होस् । व्यापार गर्ने व्यवसायीहरुको निम्ति होस् । कृषि क्षेत्रमा लागेका किसानहरु वा अन्य विभिन्न क्षेत्रमा पर्यटन क्षेत्र, सामाजिक सेवाको क्षेत्रमा लागेका, सेना, प्रहरी, कर्मचारी, उहाँहरुको पनि वृद्धि विकासका सन्दर्भमा, सुविधाको सुरक्षा र संवद्र्धन गर्ने सन्दर्भमा के , कस्तो गर्न सकिन्छ ? मैले यथाशाक्य सकारात्मक ढंगले सोच्ने र अगाडि बढाउने काम गरेको थिए । यस पटक मसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरु पनि छन । मैले अप्ठयाराहरुसँग जुधेको छु । कोभिडसँग जुधेको छु ।

नाकाबन्दीसँग जुधेको छु । पार्टी भित्रैका डरलाग्दा अप्ठयाराहरुसँग जुधेको छु । घेराबन्दीसँग जुधेको छु । ती अनुभवहरु पनि मसँग छ । आज कतै पनि त्यस्तो स्थिति छैन । आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन । हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति पनि छैन । आज एकैचोटी मनसुनको बढी चापले गर्दा केही बाढी पहिरो, केही सडक पुलहरु भत्किने र त्यसबाट जनधनको क्षति हुने त्यस्ता कुराहरु भएका छन् । हाम्रो भौगोलिक स्थितिले पनि यस्ता कुराहरु रोक्न कठिनाई भईरहेको छ । तर आगामी दिनमा यस्ता प्राकृतिक विपत्तिहरुको कसरी न्यूनिकरण गर्न सकिन्छ ? जस्ता कुराहरुलाई पनि ध्यान दिने । हामीले तीन वर्ष अगाडि मात्रै कसरी सिन्धुपाल्चोकमा विपत्ति भएको थियो ? त्यो हेर्यौं । मेलम्ची खानेपानीको अवस्था । र, हाम्रा पहिरोले नदी रोकेर कसरी क्षति पु¥याएको थियो, त्यो पनि हामीले देखेका छौं । यी सबै कुराहरु हामी सम्झिरहेका छौं । र, यो एक ठाउँको मात्रै कुरा होइन ।

विभिन्न जिल्लाहरुमा यस्ता भएका छन । त्यसप्रति सजग छौ हामी । हिजो मात्रै मन्त्रीपरिषद बैठकले पनि त्यस विषयमा गम्भिरताका साथ ध्यान दिएको छ । गृहमन्त्रीजीले धेरै गम्भिरतापूर्वक त्यसलाई अध्ययन गरिरहनुभएको छ । सम्भवत आज,भोलीसम्ममा त्यता गएर स्थलगत अध्ययन गर्न आवश्यक पर्न पनि सक्छ । उहाँले अध्ययन गर्दै हुनुहुन्छ अहिले । स्थानीय प्रहरी, प्रशासन सबैतिरबाट रिर्पोट लिने काम गर्दै हुनुहुन्छ । त्यसमा उहाँले जिम्मा लिएर काम गरिरहनु भएको छ । त्यसमा राहत कसरी पुर्याउने, उद्धार कसरी गर्ने र पुनस्र्थापनामा कसरी गर्ने ? गत वर्षको जाजरकोट केन्द्रित भूकम्पबाट भएको क्षतिको सन्दर्भमा पनि हामीले छिट्टै नै आभास निर्माणका लागि किस्ता रकम दिने कुरामा ध्यान दिने भनेका छौँ ।

यसरी हाम्रो ध्यान गएको छ विकासका कुराहरुमा । विकास, निर्माणका कुरा मात्रै होइन हामीेले एक वर्ष भित्र हिजोको मितिले एक वर्ष भित्र हाम्रा छोराछोरी, हाम्रा केटाकेटी कुनै पनि कारणले सडकमा गएर अलपत्र, खाते भन्ने हुँदैन । ती भविष्यका कर्णधार बालबालिकाहरुलाई फस्टाउन दिनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौं । हामीले कीर्तिपुर क्रिकेट रंगशालालाई ३०० दिन भित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने भनेका छौं । हिजो त हामीले सुरु मात्रै गरेका हौं । हिजो हामीले खाली औपचारिक क्याविनेट बैठक मात्रै गरेका हौ । यस उप्रान्त मन्त्रालयगत हिसावले हामी विकासको कामलाई कसरी अघि बढाउँछौं ? भन्ने कुरा हामीले देखाउँछौं ।’

प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तिब्रताका साथ काम गर्ने बताए ।


क्लिकमान्डु