सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता तालिम



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १ सय ३४ वटा शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।

बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८ शाखाहरु मार्फत विभिन्न उमेर समूहका व्यक्तिहरुलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको हो ।

वित्तीय सारक्षरता सम्बन्धी तालिमबाट महिला, विद्यार्थी, किसान, मजदुर, वैदेशिक रोजगारमा जाने तयारी गरेका व्यक्तिहरुसहित करिब १० हजार मानिसहरु लाभान्वित भएका छन् । कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता र महत्वबारे विस्तृतमा प्रकाश पारिएको थियो।

यससँगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै सम्भावित अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको थियो ।

यसैबीच बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । आफ्ना शाखा कार्यालयमार्फत बैंकले विभिन्न विद्यालय र संघसंस्थालाई सहयोग प्रदान गरेको हो ।

जस अन्तर्गत बैंकको चामे शाखाले चामे मनाङमा अवस्थित लोकप्रिय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई न्यानो स्वेटर उपलब्ध गराएको छ । त्यस्तै बैंकको कोहलपुर शाखाले कौसिल्य अस्पताल कोहलपुर, बाँकेसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

सामान्य चिकित्सा र आँखाको जाँच तथा निःशुल्क औषधि वितरण गरिएको सो स्वास्थ्य शिविरबाट करिब १ सय जना व्यक्तिहरु लाभान्वित भएका थिए । साथै बैंकको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई ५ थान ३ सिटर बेन्च उपलब्ध गराएको छ । बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु