ट्रम्पलाई गोली प्रहार गर्ने व्यक्ति को हुन्, के थियो उद्देश्य ?



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन पार्टीका आगामी राष्ट्रपति उम्मेदवार डोनल्ड ड्रम्पमाथि गोली प्रहार भएसँगै गोली प्रहार गर्ने व्यक्तिबारे गहिरो अनुसन्धान सुरु गरिएको छ । अमेरिकी एफबीआईका अनुसार गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको छ ।

एफबीआईका अनुसार ट्रम्पमाथि गोली प्रहार गर्ने संदीग्ध व्यक्ति २० वर्षीय थोमस म्याथ्यु क्रुक्स रहेको खुलासा भएको छ । क्रुक्स पेन्सिल्भेनियाको बेथल पार्कमा बस्दै आएका थिए । ती व्यक्ति ट्रम्पको चुनावी र्‍याली भएको बटलरबाट ७० किलोमिटर टाढा बेथल पार्कमा बस्दै आएका थिए । जुन ठाउँ पेन्सिल्भेनियामै नै पर्छ ।

घटनापछि एफबीआईले यसबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । एफबीआईले यदि कसैसँग तस्बिर वा अनलाइन भिडियो भएमा सेयर गर्न पनि आग्रह गरेको छ । यद्यपि आक्रमणको के उद्देश्य थियो भन्ने बारे यकिन भइसकेको छैन ।

यसअघि र्‍याली स्थल नजिकै रहेको एउटा अग्लो भवनको छतबाट गोली प्रहार भएको खुलासा भएको प्रत्यक्षदर्शीहरुले बताएका थिए। यतिसम्म कि प्रत्यक्षदर्शीहरुले ती संदीग्ध व्यक्तिले हतियार बोकेको विषयमा प्रहरीलाई जानकारी गराएको पनि बताएका छन् ।

तर प्रहरीले ट्रम्पलाई स्टेजबाट बाहिर निकालेका थिएनन् । त्यसैक्रममा अचानक ट्रम्पलाई निशाना गर्दै गोली प्रहार भयो । ट्रम्पको दायाँ कानको माथिपट्टि गोली लागेर भागाभाग भयो । जहाँ संदीग्ध व्यक्तिले पाँच राउन्ड गोली प्रहार गरेका थिए । गोली प्रहार भइरहँदा सेक्रेट सर्भिसका व्यक्तिहरुले ट्रम्पलाई सुरक्षा घेराउमा राखेर मन्चबाट बाहिर निकालेका थिए ।

ट्रम्पलाई जब बाहिर ल्याइयो त्यसबेला उनको अनुहार रगताम्य देखिएको थियो । पछि ट्रम्पले एउटा गोली आफ्नो दायाँ कानको माथिपट्टि लागेको प्रतिक्रिया दिएका थिए । अधिकारीहरुका अनुसार गोली प्रहार गर्ने व्यक्तिको हत्या भएको भएको छ । सेक्रेट सर्भिसका मानिसहरुले ती संदीग्ध व्यक्तिको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

छतमाथि पुगेका थिए बन्दुकधारी

ग्रेग नाम गरेका एक जना प्रत्यक्षदर्शीका अनुसार संदीग्ध व्यक्ति उक्त नजिकैको भवनको छतमा चढेर ट्रम्पको भाषण सुनिरहेका थिए । र भाषण सुरु भएको ५ मिनेटपछि ती बन्दुकधारीलाई आफूले देखेको ग्रेग बताउँछन् ।

ग्रेगले बीबीसीलाई भनेका छन्, ”एक बन्दुकधारी संदीग्ध व्यक्ति हामीभन्दा ५० फिट पर रहेको भवनको छतमा राइफल बोकेर अगाडि बढिरहेको हामीले देखेका थियौं । हामीले प्रस्ट देखेका थियौं कि उसको हातमा राइफल थियो ।”

उक्त भवनको तल भने प्रहरी घुमिरहेको थियो । ”हामीले प्रहरीलाई छततर्फ इशारा गरेका थियौं । छतमा हेर्नु राइफल लिएको व्यक्ति छ भनेर इशारा गरेका थियौं । तर त्यहाँ के भइरहेको छ प्रहरीले थाहा नै पाइराखेका थिएनन् ।”

प्रत्यक्षदर्शी ग्रेगले आफूहरुले अधिकारीहरुलाई कम्तीमा ३/४ पटकसम्म यसबारे जानकारी दिएको बताएका छन् । तर छतको ढलानका कारण प्रहरीले संदीग्ध व्यक्तिलाई देख्न नसकेको पनि प्रत्यक्षदर्शीको भनाइ छ । यद्यपि उक्त छतमा सेक्रेट सर्भिसका व्यक्तिहरु किन नखटाइएको भनेर प्रत्यक्षदर्शीहरुले प्रश्न गरिरहेका छन् । त्यसपछि भने सेक्रेट सर्भिसका व्यक्तिहरुले संदीग्धलाई गोली हानेको देखेको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

सेक्रेट सर्भिसकाका कम्युनिकेसन प्रमुख एन्थनी गुगलियानीले भने संदीग्धको मारेको र तुरुन्त रक्षात्मक कदम उठाएको बताएका छन् । सेक्रेट सर्भिसका अनुसार गोलीबाट एक संदीग्धको मृत्यु भृएको र अरु दुई जना गम्भीर घाइते भएका छन् ।

यस घटनालाई राजनीतिक हत्याको षड्यन्त्रको रुपमा मानिएको छ । र सोही अनुसार छानबिन गरिएको छ । गोली प्रहारपछि ट्रम्पले भीडतर्फ देखाउँदै आफ्नो मुठ्ठी कसेका थिए । र त्यहाँबाट उनलाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए । ट्रम्पको अनुहारमा रगत देखिएको थियो । तर उनी उभिएकै थिए ।

घटनापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत भनेका छन्, “एक सरसराहट आवाज, र एक गोलीको आवाज सुनेर मैले तुरुन्त बुझें कि केही गलत भइरहेको छ । र तुरुन्त गोली मेरो कानलाई छोएर बहिर गयो ।”

आगामी नोभेम्बर २० मा अमेरिकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । यसका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प र वर्तमान राष्ट्रपति रहेका डेमोक्रेटका उम्मेदवार जो बाइडेनबीच प्रमुख रुपमा प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरु दुबैले चुनावी र्‍याली गरिरहेका छन् । जवकि दुई साताअघि चुनावी अभियान सुरु हुँदै गर्दा दुई नेताहरुबीचको बहस व्यक्तिगत आरोपप्रत्यारोपमा परिणत भएको थियो ।

घटनाबारे ट्रम्पकी छोरी इभान्काले सामाजिक सञ्जालमार्फत् पेन्सिल्भेनियामा आफ्नो बाबु र अरु घाइतेहरुप्रति देखाएको प्रेम र समर्थनका लागि धन्यवाद दिएकी छन् । साथै आफ्नो देशका लागि प्रार्थना गरेको भन्दै आफ्ना बाबुलाई सम्झिएकी छन् । उनी भारतमा मुकेश अम्बानीको छोराको विवाहमा सहभागी हुन श्रीमान र छोरीको साथमा भारत आएकी थिइन् ।

-बीबीसीबाट


क्लिकमान्डु