मलाई सहकारी ठग प्रमाणित गर्नुस्, मैले जेल उद्घाटन गरेको छु: रवि



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध मुद्दा दायर गर्न नयाँ बन्ने सरकारकालाई आग्रह गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मतको पक्षमा बोल्दै रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले कांग्रेस एमालेको गठबन्धनको संसदीय समितिमा पनि बहुमत पुग्ने भन्दै आफूलाई ठग करार गर्न चुनौती दिए ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा दलगत प्रतिनिधित्व छ । उक्त समितिमा कांग्रेसका दुई र एमालेका दुई जना छन् भने माओवादी र रास्वपा र राप्रपाबाट १/१ जना सदस्य छन् ।

संसदीय छानबिन समितिमा बहुमत पुग्ने र आफूलाई दोषी करार गर्नसक्ने उनले बताएका हुन् ।

‘नयाँ सरकार बनेपछि तपाईंहरुको बहुमत पुग्छ होला । अब मलाई ठग प्रमाणित गर्न तपाईंहरुलाई कुनै आपत पर्दैन होला,’ लामिछानेले भने, ‘यो देशमा कोही न कोही जेल जानै पर्छ । यसको सुरुवात म बाट गर्नुहोस् । तर म सत्यबाट बिमुख हुनेछैन ।’

उनले आफूलाई जेलमा हल्न सक्ने सम्भावना भएकोले गृहमन्त्री हुँदा जेलको उद्घाटन गरेको टिप्पणी गरे । औपचारिक उद्घाटनमा आफू कहिल्यै नगए पनि जेलको उद्घाटन भने सोच विचार गरेर गरेको उनको भनाइ छ ।

‘नेपालगञ्जमा एउटा जेल उद्घाटन गरेको छु । त्यहाँको सिलालेखमा मेरो नाम लेखिएको छ,’ उनले भने, ‘किनकी मलाई थाहा छ, राम्रो काम गर्न सकिएछ, साथ पाइएछ भने भ्रष्टलाई जेलमा हाल्छु, सकिन भने तिनले मलाई जेलमा हाल्नेछन् । त्यही भएर मैले जेलको उद्घाटन गरेर आएको छु ।’

‍सहकारी ठगीबारे अनुसन्धान गर्ने संसदीय समिति गठन भएको छ र उक्त समितिले अहिले अनुसन्धान गरिरहेको छ ।

समितिको सभापति एमालेका सूर्य थापा रहेका छन् । समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका छन् ।

उक्त समितिले जीबी राई र रवि लामिछाने संलग्न ८ वटा सहकारी सहितका अन्य सहकारीबाट अर्बौं रुपैयाँ अपचलनबारे छानबिन गरिरहेको छ ।


क्लिकमान्डु