पुँजीबजार सकारात्मक बाटोतर्फ गईरहेको छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजार सकारात्मक बाटोतर्फ गईरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै पुँजी बजारमा सकारात्मक बाटोतर्फ गइरहेको दाबी गरे ।
प्रचण्डले आर्थिक वातावरणको सापेक्षतामा पुँजीबजार पनि नकारात्मक बाटोतर्फ नरहेको बताए ।

अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकोले नै समष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएको बताए ।

पहिला अर्थतन्त्रका विभिन्न क्षेत्रमा दबाब भएको र वित्तीय तथा मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयन, निजी क्षेत्रसँग गरिएका सघन अन्तरक्रिया र निरन्तर प्रयासले परिणाम दिएको बताए ।

गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यो वर्ष करिब दोब्बर ३.८७ प्रतिशत हुने अनुमान रहेको र आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य रहेको बताए । यो लक्ष्य केवल प्रचार र ढाडसको नभएर अन्तर्राष्ट्रिय निकाय तथा नेपालकै विज्ञ एवं अर्थशास्त्रीहरूकले वास्तविक मानेको बताए ।

आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणालीको माध्यमबाट आर्थिक वृद्धिमा योगदान पु¥याउने लक्ष्यका साथ राजस्व प्रणालीमा गरिएको नीतिगत तथा प्रशासनिक सुधारका कारण गत वर्ष ऋणात्मक रहेको राजस्वको वृद्धिदरमा दश प्रतिशतले वृद्धि भएको उल्लेख गरे । ६ अर्ब लगानीको प्रतिवद्धतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भएको भन्दै पछिल्ला समयका नीतिगत र कानूूनी सुधारले लगानीमैत्री वातावरण निर्माण भएको बताए । ‘वैदेशिक लगानीमा १४.४ प्रतिशतले वृद्धि त्यसको प्रमाण हो’ उनले भने ।

आफुले सरकारको नेतृत्व लिँदा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको र अहिले घटेर ४.१७ प्रतिशत रहेको उल्लेख गरे । सरकारले चालेका प्रयासबाट आर्थिक क्षेत्र क्रमश चलायमान हुँदै बैंकिङ क्षेत्रमा समेत सकारात्मक वातावरण सिर्जना भएको प्रचण्डको भनाइ छ ।

२०८१ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेको छ ।

यसबीचमा ब्याजदर पनि क्रमशः कम हुँदै गएको र वित्तीय पहुँचमा वृद्धि भएको उनको भनाइ छ । ‘व्यापार घाटामा सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा विद्युतीय सवारी सधानको आयातबाट प्राप्त राजस्व ३३० प्रतिशतले बढेको छ’ प्रचण्डले भने, ‘आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत थिए ।’

कूल गार्हस्थ उत्पादनमा वृद्धि हुनुका साथै कृषि क्षेत्र उत्पादन समेत वृद्धि भएको छ । पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको छ । गत वर्ष सबै रेकर्ड तोडेर १० लाख बढी पर्यटक नेपाल भित्रिए, यो वर्ष त्यो रेकर्ड पनि तोडिदै छ । यसवर्ष वैशाख महिनासम्म ९ लाख ८७ हजार पर्यटक भित्रिएका छन् जुन गत वर्षभन्दा ३४ प्रतिशतले बढी भएको बताए ।

०८१ जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.१७ प्रतिशत, विकास बैंकहरूको ९.९६ प्रतिशत र वित्त कम्पनीहरूको ११.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.१८ प्रतिशत, विकास बैंकहरूको १२.४७ प्रतिशत र वित्त कम्पनीहरूको १३.५५ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु