रेड एडभाइजरी जारी भएका जिल्लामा रात्री बस सञ्चालनमा रोक, टिकट अनिवार्य



 काठमाडौं ।  भाडाका सवारीसाधनमा यात्रु टिकट अनिवार्य गर्ने निर्णय भएको छ ।

गृह मन्त्रालयमा बसेको सुरक्षाकर्मी, यातायात व्यवसायीसहितको बैठकले टिकट अनिवार्य गर्ने निर्णय गरेको हो । ‘अब भाडाका सवारीसाधन चढ्दा यात्रुले अनिवार्य टिकट लिनुपर्ने र सञ्चालकले पनि टिकट नदिई चढाउन नपाउने निर्णय भएको,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाल भने, ‘हाम्रो माग पनि यहि हो । दुर्घटना भएपछि को को थिए भन्ने पत्तो भएन ।’ उनले बीमाका लागि पनि टिकट चाहिने बताए ।

त्यसै गृह मन्त्रालयमा बसेको बैठकले जथाभावी पटके लिन नपाउने निर्णय गरेको छ । ‘पटके जथाभावी लिइरहेका छन् । आर्थिक लाभ लिन जथाभावी पटके लिदा पटके छल्न जथाभावी गाडीहरु गएका छन् । अब यसरी  पटके लिन नपाइने निर्णय भएको छ,’ सिटौंलाले भने ।

त्यसै गरी बैठकमा गृह मन्त्रालयले वर्खामा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा छलफल हुदा रेड एडभाइजरी जारी भएका जिल्लामा गाडी सञ्चालन नगर्ने निर्णय भएको छ । मौसम पूर्वानुमानको आधारमा रेड एडभाइजरी जारी हुनेछ ।

नारायणगढ-मुग्लिन सडकको सीमतालमा लेदोसहितको बाढी आउँदा दुईवटा बस बगाएपछि रात्रीकालीन बस सञ्चालनका विषयमा छलफल भएको थियो ।

शुक्रबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका २९ स्थित सिमलताल भन्ने ठाउँमा माथिबाट खसेको पहिरोमा पुरिएको हो । चालकसहित ६० जनाभन्दा बढी बेपत्ता भएपछि खोजिकार्य जारी छ ।


क्लिकमान्डु