वर्षायाममा रात्रीबस चलाउन नदिने तयारी, गृह मन्त्रालयमा छलफल सुरु



काठमाडौं । सरकारले वर्खायाममा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।

नारायणगढ-मुग्लिन सडकको सीमतालमा लेदोसहितको बाढी आउँदा दुईवटा बस बगाएपछि रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन लागिएको हो । वर्खामा बाढी, पहिरोको जोखिम भएको भन्दै रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन गृह मन्त्रालयले प्रस्ताव गरेको हो । उक्त प्रस्तावमा अहिले गृह मन्त्रालयमा सरोकारवाला निकायहरु छलफलमा छन् । यातायाता व्यवसायी, सुरक्षाकर्मीहरु गृह मन्त्रालयमा छलफल गरिरहेका छन् ।

शुक्रबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका २९ स्थित सिमलताल भन्ने ठाउँमा माथिबाट खसेको पहिरोमा पुरिएको हो । चालकसहित ६० जनाभन्दा बढी बेपत्ता भएपछि खोजिकार्य जारी छ ।

पहिरो पन्छाउने बित्तिकै गाडी चलाउँदा दुर्घटना भएको खुलेको छ । ‘त्यहाँ पहिरो गएर सडक विभागका इक्विपमेन्टले पन्छाएका रहेछन्,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले भने,’ त्यहाँ  पहिरो पन्छाउने बित्तिकै गाडी चलेको रहेछ । माथितिरबाट लेदोसहितको पहिरो आउँदा गाडी नै बगाएको रहेछ ।’


क्लिकमान्डु