चिनियाँ गाडीमा कर बढाएपछि बाइडेनको घोषणा: अमेरिकी ईभीलाई १ अर्ब ७० करोड डलर सहायता



अमेरिकी सरकारको नयाँ योजनाले २ हजार ९ सय नयाँ रोजगारी सिर्जना गर्नुका साथै गुम्ने खतरामा रहेका १५ हजार रोजगारी सुरक्षित गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्द भएका वा जोखिममा रहेका अमेरिकी अटो निर्माता कम्पनीहरुलाई इलेक्ट्रिक वा हाइब्रिड सवारी बनाउन सहयोग पुग्ने गरी १ अर्ब ७० करोड अमेरिकी डलर प्रदान गर्ने भएका छन् ।

अमेरिकी ईभीको बिक्री सुस्त भइरहँदा चिनियाँ ईभीमाथि चार गुणा भन्सार शुल्क लगाएका राष्ट्रपति बाइडेनले स्वदेशी ईभीलाई प्रोत्साहन गर्न नयाँ योजना ल्याएका हुन् । यो घोषणालाई बाइडेन प्रशासनको औधोगिक रणनीतिको एक कोषेढुंगाको रुपमा पनि व्याख्या गरिएको छ । जसले वर्षौंदेखि विदेशमा भइरहेको अटो निर्माण कार्यलाई अमेरिकामै फिर्ता गर्ने अपेक्षा गरिएको छ ।

ऐतिहासिक रुपमा बढेको मुद्रास्फीति न्युनीकरण अधिनियमबाट प्राप्त रकमलाई ऊर्जा विभागले छनोट गरेका ८ वटा राज्यका संयन्त्रहरु यो योजनाबाट प्रभावित हुनेछन् । जसमा मिसिगन र पेन्सिल्भेनिया जस्ता महत्त्वपूर्ण क्षेत्रका अटो निर्माता पनि यस योजनामा सामेल छ ।

यस योजनाले ऊर्जा अर्थतन्त्रसहित युनियन अटोवर्कर्स र अटोमेकरहरुका लागि ‘विन विन’ को अवस्था हुने पनि अपेक्षा गरिएको छ । साथै यसले हजारौं उच्च तलब दिने र अटो निर्माता कम्पनीमा रोजगारी सिर्जना गर्ने बताइएको छ । यसले लान्सिङ, मिसिगनदेखि फोर्ट भ्यालीदेखि जर्जियासम्मका अटो कम्पनीहरुलाई आफ्नो कारखाना पुनर्स्थापित गर्न पनि मद्दत पुग्ने राष्ट्रपति बाइडेनले विश्वास लिएका छन् ।

नयाँ योजनाले सरदर २ हजार ९ सय नयाँ रोजगारी सिर्जना गर्नुका साथै गुम्ने खतरामा रहेका १५ हजार रोजगारी सुरक्षित गर्ने पनि बताइएको छ । यससँगै जीएम र भोल्भो जस्ता प्रमुख अटोमेकरहरु साथै अमेरिकी अटो पार्ट्स जस्ता आयातकर्ताहरु पनि यस योजनाबाट लाभान्वित हुने बताइएको छ । अटो निर्माताहरुसँगै फुल भिहिकल एसेम्ब्लीहरु पनि यसबाट लाभान्वित हुनेछन् ।

चिनियाँ उत्पादनसँग कडा प्रतिस्पर्धाका कारण अमेरिकी ईभी उत्पादकहरु बजारमा संघर्ष गरिरहेका बेला अमेरिकी सरकारले नयाँ योजना घोषणा गरेको हो । यससँगै पछिल्लो समय अमेरिकी ईभीहरुको बिक्री मन्द भइरहेको छ । तर नयाँ योजनाले अमेरिकी ईभीको बिक्री बढ्ने पनि अपेक्षा गरिएको छ ।


क्लिकमान्डु