मौद्रिक नीतिमार्फत डिजेल/पेट्रोल गाडीप्रति लचकता अपनाउन राष्ट्र बैंकलाई नाडाको सुझाव



काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनमा लचकता अपनाउन राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

नाडाले मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंक समक्ष ७ बुँदे सुझाव दिदै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट  हायर पर्जेन लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियो ५० प्रतिशतबाट बढाए ७५ प्रतिशत पुर्‍याउन आग्रह गरेको छ ।

नाडाले  पेट्रोल, डिजेल र विद्युतीय शक्तिबाट चल्ने निजी र व्यावसायिक प्रयोजनका सवारी साधनहरुलाई स्पष्ट रुपमा छुट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनुपर्ने माग गरेको छ ।  ‘चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि विभिन्न चरणमा  राष्ट्र बैंकले यसलाई सच्याउदै पनि आएको छ,’ नाडाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘तर पनि यसले अझै पनि व्यवसायीहरुलाई समस्यामा पारेको छ । यो लागु भएको मिति पछि कर्जा लिएकाहरुलाई मात्रै चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुन्छ ।’

नाडाले कालो सूचीमा कडाई गर्न माग गरेको छ । कालो सूचीमा परेका व्यक्तीहरुले पनि अन्य बैंकहरुबाट आफ्नो कारोबार गरिरहेको भन्दै  राष्ट्र बैंकले नियमन कडाईका साथ गर्नुपर्नेलगायतका माग गरेको छ ।

नाडाले  राष्ट्र बैंकलाई विद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई जानकारी गराएरको छ ।  नाडाका अनुसार आर्थिक सुस्ततासंगै अटोमोवाइल बजारमा ६८% को गिरावट देखिएको छ । यो क्षेत्रले अहिले १४% मात्र जीडीपीमा योगदान गरेको छ। यस अघि २१% सम्मको योगदान हुने गरेको थियो ।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार अहिले अटोमोवाइल मैत्री मौद्रिक नीतिको आवश्यकता छ । ‘विद्युतीय सवारी साधनहरुमा नीतिगत स्तरमा भएको लचकता सराहनीय छ तर अटोमोबाइल क्षेत्रले विद्युतीय सवारी साधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्दछ,’ उनले भने, ‘ जसमा आइसीई भेहिकल्स, पार्ट्स, लुब्रिकेन्ट्स र टायर इत्यादी क्षेत्रहरु पनि समावेश हुन्छ, यी सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता हुन्छ ।’


क्लिकमान्डु