सिंहदरबारमा सहकारी पीडितको रोदन: जग्गा बेचेको पैसा रवि-जीबीले खाइदिए, औषधि खान सकिएन



काठमाडौं । सहकारी पीडितहरुले प्रहरीले समयमै उजुरी लिन नमान्दा कतिपय सहकारीका सञ्चालकहरु भाग्न सफल भएको बताएका छन् ।

सहकारीले पैसा फिर्ता नगरेपछि आफ्नो पैसा फिर्ता पाउँ भन्दै निवेदन दिन जाँदा प्रहरीले उजुरीसमेत नलिएर थप पीडा दिएको उनीहरुको गुनासो छ ।

बुधबार सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गरिरहेको छ । छलफलका क्रममा पीडितहरुले जीबी राई र रवि लामिछाने जोडिएका सहकारीले ठगी गरेको उजुरी दर्ता गर्न खोजे पनि त्यसलाई प्रहरीले लिन नमानेको आरोप लगाए ।

पोखरा, बुटवल, पर्सा, चितवन लगायत जिबी राई रवि लामिछाने जोडिएको सहकारीले बचत फिर्ता गर्न नसकेपछि उजुरी दिन जाँदा प्रहरीले उजुरी नलिएर थप पीडा दिएको उनीहरुको भनाइ छ ।

पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडित किरण श्रेष्ठले सहकारीले बचत फिर्ता नगरेपछि पटक पटक प्रहरीमा जाँदा पनि प्रहरीले उजुरी नलिएको बताए । उक्त सहकारीबाट गोरखा मिडिया नेटवर्कमा समेत कर्जा गएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछाने तत्कालीन समयमा गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहेका थिए ।

सहकारीले बचत ठगेपछि २०७९ असोजमा पोखरामा छानबिन भएको थियो । छानबिन प्रतिवेदन र २०८० माघदेखि २०८१ वैशाखसम्म बनेको ३४ सय पृष्ठ लामो प्रतिवेदनमा लामिछाने नाम उल्लेख छ ।

पहिलो प्रतिवेदन बन्दा लामिछाने सांसद र पछिल्लो प्रतिवेदन बन्दा गृहमन्त्री बनेका थिए । उनीविरुद्धमा समेत उजुरी पर्ने भएपछि प्रहरीले जाहेरी लिन नमानेको पीडित श्रेष्ठको गुनासो छ । पोखराको सूर्यदर्शन सहकारी ठगीमा लामिछानेको संलग्नताबारे दुवै प्रतिवेदनले औंल्याएको छ ।

कास्की जिल्लामा राईको नाममा ७० रोपनी जग्गा जिबीको नाममा रोक्का रहेको र त्यो बिक्री गरेर भएपनि राज्यले बचतकर्ताको बचत फिर्ता गर्नुपर्ने उनको माग छ ।

जीबी राई संलग्न रहेको स्वर्णलक्ष्मी सहकारीका पीडित कृष्ण परियारले २०७९ असार अन्तिम साताबाट उक्त सहकारीमा समस्या आएको उल्लेख गरे । त्यो बेला जिबी राई, कुमार रम्तेल लगायतले ५/ १० लाख सम्म पैसा दिने भने पनि त्यसपछि उनीहरु भागेको परियारको भनाइ छ ।

आफू ठगिएपछि गृहमन्त्री लामिछानेलाई भेटन गएको उनले बैठकमा सुनाए ।

प्रतिनिधि सभा चुनाव हुनुअघि साउनमा रवि लामिछानेलाई आफूले उक्त सहकारीबाट पीडित बनेको जानकारी गराएको स्मरण गरे । आफूसँगको भेटमा लामिछानेले समस्याको समाधान गर्छु भने पनि अहिलेसम्म ठगिएको बचत फिर्ता नपाएको उनले गुनासो गरे ।

सहकारीमा आफ्नो ७९ लाख रुपैयाँ फसेको परियारले बताए । ‘मैले रवि लामिछानेलाई भेट्दा पनि सबै पैसा मागेको थिइनँ,’ बैठकमा उनले भने, ‘सबै पैसा नदिने भए पनि मासिक २५ हजार घर चलाउन पैसा मागेको थिएँ । त्यो बेला कुमार रम्तेललाई रविले नै बचत फिर्ता गर्नुभन्नु भएको थियो । तर अहिलेसम्म पाएको छैन ।’

जीबी संलग्न रहेको चितवनको साहारा सहकारीका पीडित सालिकराम दुवाडीले चितवनमा धेरै मेहनतपछि प्रहरीमा उजुरी दिएको बताए । गोरखा मिडिया नेटवर्कको नाम आउनासाथ प्रहरीले उजुरी लिन नमान्ने गरेको उनले बताए ।

उक्त सहकारीबाट गोरखा मिडिया नेटवर्कसहित कम्पनीमा करोडौं लगानी भएको उनले बताए ।

गोरखा मिडिया नेटवर्कमा संलग्न रहेर बचतकर्तालाई ठग्ने सबैलाई अनुसन्धान गरेर पैसा उठाउनु पर्ने उनको भनाइ छ ।

जीबी राईको नाममा भैंसेपाटीमा १ अर्ब मूल्यको २४ रोपनी जग्गा रहेको र त्यो जग्गा हिमालयन बैंकले २० करोडमा रोक्का राखेको उनले बताए ।

चितवनको साहारा सहकारीका पीडित पूर्ण भद्रले दिदी बहिनीको जग्गा बिक्री गरेको पैसा आफूले सहकारीमा राखेको र त्यो पैसा जीबी रविले खाइदिएको बताए ।

‘दिदी बहिनीको जग्गा बेचेको पैसा थोरै बढी व्याज आउँछ भनेर साहारा सहकारीमा राखेको थिएँ, ‘ भद्रले दु:खि हुँदै भने,’त्यो पैसा जीबी रविले खाइदिए ।’

आफूले पहिला सानो व्यवसाय गरेको र अहिले पैसाको अभावमा त्यसलाई निरन्तरता दिन नसकेको बताए । साहाराका सदस्यहरु औषधि खान नपाएर बसेको उनले बताए ।

जिबी–रवि संलग्न वीरगन्जको सानो पाइला सहकारीका पीडित विक्रम यादवले बचतकर्ताको एक अर्ब ४० करोड रुपैयाँ उठाएर सहकारी फरार रहेको बताए । उक्त सहकारीमा ५ हजार सदस्य रहेको उनको भनाइ छ ।

उक्त सहकारीमा तस्विरन खातुन सीईओ रहेको र उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिन गए पनि प्रहरीले लिन नमानेको उनको भनाइ छ ।

पछि अदालतमा ठाडो उजुरी दिन जाँदा पनि उजुरी लिन नमानेको उनको गुनासो छ । जिबी राईको नाममा अहिलेसम्म पनि प्रहरीले उजुरी नलिएको यादवको गुनासो छ ।

त्यस्तै सुप्रिम सहकारी बुटवलका पीडित देवीराम भट्टराईले जीबी राईले १ अर्ब ३२ करोड हिनामिना गरेको बताए । जिबीले ठग्ने उद्देश्यले ७० जना कर्मचारी राखेर घर घरमा पठाएर बचत लिएर भागेको उनको भनाइ छ । राईले दिनभरी उठाएको पैसा पछि काठमाडौं ल्याउने गरेको उनको भनाइ छ ।


क्लिकमान्डु