रिलायन्सको आईपीओको विषयमा धितोपत्र बोर्डसँग लेखा समितिले सोध्यो स्पष्टीकरण



काठमाडौं । रिलायन्स स्पिनिङ मिललाई आइपिओ जारी गर्न दिने निर्णय कसरी गरियो भन्ने विषयमा प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ ।

मंगलबार लेखा समितिले रिलायन्सलाई बुक बिल्डिङमार्फत आइपिओ निष्काशन गर्दा मूल्य कसरी तय गरियो भन्ने विषयमा सात दिनभित्र स्पष्ट पार्न धितोपत्र बोर्डलाइ निर्देशन दिएको हो ।

बुक बिल्डिङमार्फत रिलायन्सले आइपिओ जारी गर्दा तयार भएका वित्तिय विवरणहरुमा छेडखानी गरे/नगरेको प्रष्ट पार्न समितिले बोर्डलाइ निर्देशन दिएको हो ।

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट असार २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासनको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्ता आवेदन दिनु पर्नेछ ।

कम्पनीले आगामी आर्थिक वर्ष २०७९/८० को  अनुमानित प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा देखाएपनि बास्तविक आम्दानी २ रुपैयाँ ८ पैसा रहेको भन्दै समितिले प्रक्षेपित विवरण र वास्तविक विवरण फरक पर्नुको कारण बोर्डसँग स्पष्टीकरण मागेको हो ।

यस्तो छ लेखा समितिले सोधेको स्पष्टीकरण

श्री नेपाल धितोपत्र बोर्ड
सार्वजनिक लेखा समिति
सिंहदरवार, काठमाडौँ । मितिः २०८१/०३/२५
खुमलटार, ललितपुर ।

विषयः जानकारी उपलब्ध गराइदिने सम्बन्धमा |

उपरोक्त सम्बन्धमा रिलायन्स स्पिनिङ मिल्सले हालै मात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई बुक बिल्डिङ प्रक्रियामार्फत उक्त कम्पनीको आईपीओ जारी भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको विषयप्रति यस समितिको गम्भिर ध्यानाकर्षण भएको छ । यसअघि संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गरिसकिएता पनि सर्वसाधारणलाई जारी हुन लागेको भनिएको उक्त कम्पनीको आईपीओको सम्बन्धमा देहायका जिज्ञासाहरुको स्पष्ट जवाफ ७ (सात) दिनभित्र उपलब्ध गराइदिनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु ।

उक्त कम्पनीको आधार मूल्य के आधारमा तय गरिएको हो ? बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमा आईपीओ ल्याउँदा अर्थात गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सिमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा Manipulation भएको अनुमान गर्न किन नसकिने ?

सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीको तर्फबाट जारी गरिएको आहान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९ ।८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ आर्थिक वर्ष २०८०1८१ मा ३२.९० रुपैयाँ २०८१।८२ मा ३२.८९ र २०८२।८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०।८१ को चैत्रसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो सोको स्पष्ट जानकारी उपलब्ध गराइदिनुहुन ।

उक्त कम्पनीमा बुकविल्डिङका लागि विड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थं वाझिएको छ कि छैन ? बुक विल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सोको समेत विस्तृत विवरण उपलब्ध गराइदिनुहुन । कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक फरक प्रतिसेयर आम्दानी ( हरेक आ.व. मा घट्दै गएको) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र वोर्डको धारणा के हो ?


क्लिकमान्डु