सहकारी छानबिन विशेष समितिले बोलायो पीडितलाई



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले सहकारी पीडितहरुसँग छलफल गर्ने भएको छ ।

आज बसेको विशेष समितिको बैठकले बुधवार पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको छ । सहकारीका पीडितहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधवार पीडितहरुसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरुको खोजी गर्ने समितिले जनाएको छ ।

‘भोलि हामीले पीडितका प्रतिनिधिहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने योजना बनाएका छौं’ सभापति थापाले भने ‘२९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरुलाई बोलाएका छौं । सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न । हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौं ।’

समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो । अब पीडितहरुसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरुको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए ।


क्लिकमान्डु