कोशी प्रदेशको खर्च २८ अर्ब ३६ करोड, सबैभन्दा धेरै खर्च असारमै



काठमाडौं । चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । यसमध्ये सबैभन्दा ठूलो रकम असार महिनामा मात्रै भएको छ ।

यही असार महिनामा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार रुपैयाँ खर्च भएको भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ऋषिकुमार खनालले जानकारी दिए । र चालु आर्थिक वर्षको खर्च गर्ने अन्तिम दिन सोमबार मात्रै २ अर्ब ३० करोड ३५ लाख ८८ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

गत जेठ महिनासम्म भने प्रदेश सरकारले २० अर्ब १७ करोड खर्च गरेकोमा जेठ महिनाभर ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ खर्च गरेको थियो । चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जस अन्तर्गत चालुतर्फ १५ अर्ब ९३ करोड ३५ लाख ६२ हजार र पुँजीगततर्फ २० अर्ब ८७ करोड ५५ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको थियो । यसमध्ये पुँजीगत तर्फ प्रदेश सरकारले १६ अर्ब ३६ करोड ६ लाख ४४ हजार खर्च गरेको छ भने चालुतर्फ १२ अर्ब ७२ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ । तर चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमध्ये ८ अर्ब ४५ करोड ११ लाख ९७ हजार रुपैयाँ खर्च भएको छैन ।


क्लिकमान्डु