३७ मेगावाटको त्रिशुली जलविद्युत आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनी सुईफा ३ वर्षका लागि कालोसूचीमा



काठमाडौं । ३७ मेगावाटको त्रिशुली जलविद्युत् आयोजना अलपत्र पारेको भन्दै चिनियाँ कम्पनी सुईफा एएनएचई ग्रुप कम्पनी लिमिटेड कालोसूचीमा परेको छ ।

कम्पनीलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको हो । यो कम्पनी कालोसूचीमा राखिएको अवधिभर नेपालमा कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउने छैन् । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड, वनस्थलीको  सिफारिसमा शुक्रबार बसेको सार्वजनिक खरिद अनुगमन कामर्यालयको बैठकले कालोसूचीमा राखेको हो ।

यो आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी सिचुआन एएनएचईले पाएको थियो। ठेक्का पाएपछि कम्पनी  काम गरिरहेको थियो । यो कम्पनीलाई चिनियाँ सरकारी कम्पनी स्वीफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले प्राप्ती गर्‍यो । त्यसपछि व्यवस्थापनको समस्या देखाउदै कम्पनीले काम नै रोक्यो ।

३६ महिनामा सक्ने २०७४ सालमा  कम्पनीले ठेक्का पाएको थियो । ठेक्का लागेपछि कोभिडका कारण करिब १५ महिना काम प्रभावित भयो । कोरोनकाल सकिएर केहि समय काम भयो ।

कम्पनीकाअनुसार कुल ३८०५ मिटर सुरुङमार्गमध्ये ३४०० मिटर सुरुङमार्ग खन्ने काम सकिएको छ । ४०५ मिटर खनेपछि यो सुरुङमार्ग ‘ब्रेक थ्र’ हुन्छ । पुरै सुरुङमार्ग फिनिसिङको काम भने बाँकी नै छ । सर्ज ट्यांकको पूरै काम बाँकी छ । करिब १७५ मिटर पेनस्टक पाइप राख्नुपर्छ । स्लोव प्रोटेक्सनको काम २५ प्रतिशत पूरा भएको छ । बाँकी सम्पूर्ण संरचना निर्माणको काम बाकीँ रहेको कम्पनीले जनाएको छ ।

यो परियोजनाको ६६ प्रतिशत काम पूरा भएको छ । ८ अर्ब २२ करोड रुपैयाँमा आयोजनाको ठेक्का चिनियाँ कम्पनीलाई दिएको थियो । ६० मेगावाटको त्रिशुली-थ्री ‘ए’ जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । अहिले चिनियाँ कम्पनीसँग ठेक्का तोडेर आयोजनाको बाँकी काम अघि बढाउन नयाँ ठेक्का आह्‍वान भएको छ ।

कम्पनीले निकालेको ठेक्कामा आवेदन दिएका कम्पनीहरुको मूल्यांकन चलिरहेको छ । वाइबा इन्फ्राटेक प्रालि, हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सन प्रालि, साई/आरएससी जेभी,सीई कन्स्ट्रक्सन, तुण्डी कन्स्ट्रक्सन प्रालि र फेवा कन्स्ट्रक्सन प्राविधिक प्रस्तावमा पास भएका छन् । उनीहरुसँग वित्तिय प्रस्ताव मागेर मूल्यांकन भइरहेको छ ।


क्लिकमान्डु