पक्राउ परेका बज्रयान सहकारीका लेखा समिति सदस्यले ३ सहकारी र बैंकबाट लिएर तिरेनन् साढे १५ करोड ऋण



काठमाडौं । काठमाडौंको कलंकीमा रहेको बज्रयान बहुउद्देश्यीय सहकारीका लेखा समिति सदस्य रबिन्द्र बज्राचार्यले तीनवटा सहकारी र एक विकास बैंकबाट लिएको करिब साढे १५ करोड कर्जा तिर्न नसकेको बयान दिएका छन् ।

उनले आमा बहुउद्देश्यीय सहकारीबाट साढे तीन करोड, उमा महेश्वरी बचत तथा ऋण सहकारीबाट साढे ७ करोड, पंचशिल बहुउद्देश्यीय सहकारीबाट साढे तीन करोड र ज्योती विकास बैंकबाट १ करोड ८० लाख रुपैयाँ ऋण लिएको सरकारी वकिलको कार्यालय काठमाडौंमा दिएको बयानमा उल्लेख गरेका छन् ।

त्यो ऋणको समयमा नै साँवा ब्याज तिर्न नसक्दा सम्पत्ति लिलामी गर्ने प्रकृयामा गएको छ ।

उनले उक्त रकम ऋण लिएर घर जग्गामा लगानी गरेको स्वीकारेका छन् । हाल टंकेश्वर, ताहाचल, कालिमाटी, सितापाईला / कलंकीमा घर जग्गा रहेको छ । सहकारी र बैकबाट लिएको ऋण तिर्न नसकेपछी सबै लिलामीको प्रकृयामा गएको बज्राचार्यले बताए । काठमाडौंका विभिन्न स्थानमा करिब २२ करोड मूल्य बराबरको सम्पत्ति रहेको उनले बयानमा उल्लेख गरेका छन् ।

सहकारीबाट बचतकर्ताको ११ करोड ३० लाख ३० हजार ४३५ रुपैयाँ ठगीमा हाल फरार रहेकी गौरी प्रभा श्रेष्ठको पनि संलग्नता रहेको प्रहरीको अनुसन्धाले देखाएको छ । गौरी र रबिन्द्र श्रीमान-श्रीमती हुन् ।

गौरी सहकारीको पूर्व अध्यक्ष तथा अहिलेको कार्यकारी प्रमुख हुन् । हाल गौरी फरार रहेकी छिन् । रबिन्द्र भने पक्राउ परेका छन् । सहकारीको कार्यालय पनि आफ्नै घरमा राखेका थिए । रबिन्द्र आफू कानूनी व्यबसायी समेत भएको बयान दिएका छन् । गौरी २०६४ सालमा सहकारीका अध्यक्ष रहेकी थिएन् ।

उनले बयानका क्रममा २०६९ जेठ १२ गतेको साधारण सभाबाट निर्वाचित संचालक समितिका पदिधकारीहरु मध्ये राजकुमार घिमिरे, उपाध्यक्ष साडु भाइ नाता पर्ने अरुण प्रकाश श्रेष्ठ, कोषाध्यक्ष जेठान नाता पर्ने सतिषचन्द्र श्रेष्ठ चयन भएको दाबी गरेका छन् ।

बचतकर्ताको ११ करोड ३० लाख ३० हजार ४३५ रुपैयाँ ठगेर सहकारीका अध्यक्षसहित ६ जना फरार रहेका छन् भने १ जना पक्राउ परेका छन् ।

सहकारीले दिएको कर्जा समयमा नै नउठ्दा, ऋणीले समयमा नै कर्जा चुक्ता नगर्दा संस्थाले बचतकर्ताको बचत समऴयमा नै फिर्ता गर्न सकेका छैनन् ।


क्लिकमान्डु