हुनेवाला प्रमज्यू, खोलाछेउ बस्ने २ हजार परिवारलाई गिरिबन्धुमा राख्ने व्यवस्था मिलाउनुस्: बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राजधानीका बाढीपिडितलाई गिरिबन्धु टि स्टेटमा व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । निकट भविष्यमै प्रधानमन्त्री बन्दै गरेका ओलीलाई उनीसँग जोडिएको गरिबन्धु जग्गा प्रकरणमा व्यंग्यात्मक तरिकाले जोड्दै यसो भनेका हुन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘केपी ओलीज्यू, काठमाडौंमा लगभग २,००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईंले पचाउँन खोज्नु भएको गिरिबन्धुमा यस्ता १५,००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

काठमाडौंमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परेको परिवेशमा बालेनले यस्तो अनुरोध गरेका हुन् । ‘खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !’ उनको भनाइ छ, ‘अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधैं गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’


क्लिकमान्डु