गृहसचिव, प्रहरी महानिरीक्षकसँग यस्तो भयो सहकारी छानबिन संसदीय समितिको छलफल



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बचतकर्ता ठग्ने सहकारी सञ्चालकको अनुसन्धानका विषयमा छलफल गरेको छ ।

समितिले आजको बैठकमा सहकारीबाट बचतकर्तालाई ठगेर देश छोडेर फरार रहेका व्यक्तिका साथै समग्र अनुसन्धानका विषयमा गृह सचिव नारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सीआईबी प्रमुख श्यामलाल ज्ञवाली, अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको हो ।

बैठकमा गृह मन्त्रालय र प्रहरी संगठनअन्तर्गतका निकायले सहकारी क्षेत्रमा गरेको अनुसन्धानको बारेमा गम्भीर छलफल गरेको सभापति सूर्य थापाले बताए ।

बचतकर्ताको बचत अलचलन गरेर, सहकारीबाट ऋण लिएर केही सञ्चालन तथा ऋणी फरार रहेका छन् । उनीहरुको विषयमा पनि छलफल भएको थापाले बताए ।

अहिले ८ वटा सहकारीबाट कर्जा लिएर गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई, सुमेरु सहकारीका भरत महर्जन, बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपाली विदेश फरार रहेका छन् । उनीहरुका विषयमा अनुसन्धान के भइरहेको छ भन्ने विषयमा प्रहरी प्रशासनसँग छलफल भएको थापाको भनाइ छ ।

तीनै जना लामो समयदेखि फरार रहँदा पनि पक्राउ पर्न नसकेको विषयमा छलफल भएको थियो ।

छलफलमा प्रहरी महानिरीक्षक कुँवरले तीन जना विरुद्ध इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरिएको जानकारी गराए । तीन जनालाई नै सकेसम्म चाँडै पक्राउ गरेर देशमा ल्याउने विश्वास कुँवरले दिलाइएको सभापति थापाले बताए ।


क्लिकमान्डु