धितोपत्र बोर्ड अध्यक्षको विवाद न्यायाधीश प्रधान र ढकालको इजलासमा, अन्तरिम आदेश जारी होला ?
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवाद सम्बन्धी रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।
अध्यक्षका आकांक्षीमध्येका एक सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अन्तरिम आदेश प्रयोजनका लागि आज दुवै पक्षलाई बोलाइएको छ ।
अध्यक्ष नियुक्तिका लागि मुख्य ५ मा छानिएका श्रेष्ठले यो प्रकृया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । मुख्य ५ मा छानिएका ५ जना मध्ये ३ जना अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि सरकारले यो प्रकृया रद्द गरेको छ।
कानुनी व्यवस्था अनुसार कम्तिमा तीनजनाको नाम समितिले सिफारिस गर्नुपर्ने भएपछि नियुक्ति प्रक्रिया रद्ध गरिएको थियो । प्रकृया रद्ध भएपछि सर्टलिस्टमा परेर कार्यपत्र र कार्ययोजना प्रस्तुत गरेका श्रेष्ठ रिट लिएर सर्वोच्च पुगेका हुन् ।