पर्यटनमन्त्री तामाङको दाबी: आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउँछौं



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने दाबी गरेका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । यस्तै मन्त्री तामाङले नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका लागि समिति गठन गरिएको बताए ।

उनले निगमलाई संचालन गर्न निजी क्षेत्रलाई सहभागी गराउने विषयमा पनि सरकारले गम्भीर ढंगले छलफल गरिरहेको बताए । मन्त्री तामाङले भने, ‘आगामी आर्थिक वर्षमा १६ लाख पर्यटकहरु भित्रिने छन् । नेपाल वायुसेवा निगमको समस्याको बारेमा पनि चिन्ताका साथ विषय उठाइएको छ । नेपाल वायुसेवा निगमभित्र देखिएको अनियमितताबारे छानविन समिति हिजो गठन गरिएको छ । यसमा निजी क्षेत्रलाई समेट्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा भइरहेको छ ।’

मन्त्री तामाङले गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल संचालनका लागि आफूले सक्दो पहल गरिरहेको पनि बताएका छन् । एमाले र कांग्रेस मिलेर सत्ता समीकरण परिवर्तन गरी नयाँ सरकार गठनको तयारी भइरहँदा मन्त्री तामाङको एक वर्षे योजनाबारे यस्तो अभिव्यक्ति आएको हो । साथै मन्त्री तामाङले निकट भविष्यमा सरकार परिवर्तन हुनसक्ने सम्भावित परिस्थितिले पर्यटक भित्र्याउने लक्ष्य प्रभावित हुनसक्ने अवस्थाबारे केही बोलेका छैनन् ।


क्लिकमान्डु