बाँकेमा फरार प्रतिवादी पक्राउ गर्न प्रहरीको गोली प्रहार



बाँके । बाँकेको डुडुवा गाउँपालिका–६, सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा बिहीबार स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले गोली प्रहार गरेको छ ।

स्थानीयहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका निम्ति एक राउन्ड हवाईफायर र दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । “झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,” उनले भने ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार, झडपमा एक महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इँटाले टाउकोमा चोट लागेको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा घाइते दुवैको उपचार भइरहेको उनले जानकारी दिए ।

“डुडुवा गाउँपालिका–६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार ६ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन् । उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ,” प्रहरी उपरीक्षक कार्कीले भने, “निजलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो । स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो ।”


क्लिकमान्डु