बेतन कर्णालीको बिजुली प्रवाह गर्न ४०० केभी प्रसारणलाइन निर्माण हुने, २ वर्षमा तयार पारिने



काठमाडौं । अछाममा पहिचान भएको बेतन कर्णाली जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न ४०० किलोभोल्ट प्रसारणलाइन निर्माण हुने भएको छ ।

आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले प्रसारणलाइन निर्माण गर्न  लागेको हो । प्रस्तावित प्रसारणलाइन आयोजना अछामको ढकारी-६ मा रहेको स्वीचयार्डदेखि कर्णालीको सुर्खेतको चौकुने-४ मा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिमटेडबाट प्रस्तावित बाघमारा सबस्टेसनमा जोडिनेछ । यो प्रसारणलाइन करिब ५ किमीको हुनेछ । जसमा ११ वटा टावरुहरु रहने छन् ।

 र टावरको औसत उचाई ५० मिटर हुनेछ । टावरहरुबीचको दुरी २४१.२४ मिटरदेखि १३५१ मिटरसम्म हुनेछ । आयोजनाका लागि कुल २६.५३ हेक्टर जमिन आवश्यक पर्छ । निर्माण थालेको २४ महिना निर्माण सक्ने लक्ष्य छ ।  

विद्युत विकास विभागले सार्वजनिक सूचना निकालेर आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रह गरेको छ ।

प्रस्तावित बेतन कर्णाली जलविद्युत आयोजना आयोजना सुर्खेत र अछाममा भएर बग्ने कर्णाली नदीमा निर्माण हुनेछ । यो पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशययुक्त) प्रकृतिको हुनेछ । आयोजनाको मुख्य संरचना कर्णाली नदीको दायाँ किनारा ढकारी गाउँपालिकामा पर्दछ । २०१५ मिटरको हेडरेस टनेल निर्माण हुनेछ । निर्माण थालेको पाँच वर्ष अर्थात २०८८ भदौ १ गतेबाट व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनाको लागत ८८ अर्ब १९ करोड रुपैयाँको अनुमान गरिएको छ । कर्मचारी सञ्चयकोषले यो आयोजना प्रवर्द्धन गर्न लागेको हो ।


क्लिकमान्डु