विपद् प्रतिकार्यका लागि ७७ जिल्लामै रेडक्रसका स्यवंसेवक खटिए



काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सातै प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ । रेडक्रसले यस वर्ष अत्याधिक वर्षा हुने मौसम विज्ञहरुले पूर्वानुमान गरिरहँदा सबै जिल्लाहरुमा तालिमप्राप्त स्वयंसेवकहरु खटाएर विपद् पूर्वतयारीका काम अघि बढाएको जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आकलनबीच सम्भावित जोखिमलाई न्युनिकरण गर्न विपद् पूर्वतयारीका कामहरु पनि अघि बढाएको बताए ।

रेडक्रसले विपद् पूर्वतयारी स्वरुप रेडक्रसले मनसुन पूर्वतयारी योजना निर्माण गरेको बताए । उनले मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरुको विवरण परिचालनका लागि अध्यावधिक गर्ने काम सम्पन्न भएको जानकारी दिए ।

उनले सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको बताए । यस्तै लमजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ती जिल्लाहरुमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरु प्रदान गरिसकेको पनि उनले बताए ।

सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारी अन्तर्गत राहत सामग्री भण्डारणहरु भइसकेको र नेपाल रेडक्रस सोसाइटीले मनसुनबाट हुने क्षति कम गर्न पूर्वतयारीका कामहरु गरिरहेको बताइएको छ । साथै सबै स्वयंसेवकहरु तयारी अवस्थामा रहेको पनि रेडक्रसले जनाएको छ ।

‘नेपाल रेडक्रस सोसाइटीले विपद्को क्षेत्रमा नियमित काम गरेको छ । विभिन्न खालका विपद्हरु चाहे भूकम्प होस्, चाहे आगलागी, बाढी पहिरो वा अरु किसिमका विपद्हरुमा हामीले काम गरिरहेका छौँ । पछिल्लो समय मनसुन भित्रिसकेको छ । यो वर्षको मनसुनबारे विभिन्न आँकलनहरु भएका छन् । यो वर्षको मनसुनमा पनि यस पटकको मनसुनमा औषत भन्दा बढी वर्षा हुने र त्यसले जनधनको क्षति गर्ने पूर्वानुमान छ । त्यसको पूर्वतयारीमा हामीले मनसुन पूर्वतयारी योजना निर्माण गरेको छ,’ महामन्त्री श्रेष्ठले भने ।

यस्तै सबै स्यवंसेवकहरु उद्धार तथा राहत वितरणका लागि तयारी अवस्थामा रहेको श्रेष्ठले बताए । यस्तै विपद्‍ प्रतिकार्यका लागि सबैको साथ हुनुपर्ने भन्दै अन्य क्षेत्र तथा संघसंस्थाहरुलाई पनि सहयोगका लागि रेडक्रसले आह्वान गरेको छ ।

‘मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरुको विवरण परिचालनका लागि अध्यावधिक गर्ने काम सम्पन्न भएको छ । सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको छ । नेपाल रेडक्रसले राहत सामग्री र खोज उद्धार गरेको छ । सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारीअन्तर्गत राहत सामग्री भण्डारणहरु भएका छन् । नेपाल रेडक्रस सोसाइटी मनसुनबाट हुने क्षति कम गर्न पूर्वतयारीका कामहरु गरिरहेको छ । हाम्रा सबै स्वयंसेवकहरु तयारी अवस्थामा छन्,’ महामन्त्री श्रेष्ठले भने ।


क्लिकमान्डु