प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह, देउवा र ओलीबीच भएको समझदारी अनुमोदन



काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट राजिनामा दिन आग्रह गरेको छ ।

बुधबार नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले संसदका २ प्रमुख दल मिलेर सरकार बनाउने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले पदबाट राजिनामा दिनु पर्ने निर्णय गरेको जनाएको छ ।

समितिले सबैभन्दा ठूला दलहरुले सरकारले बनाउने भनेकाले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्न उपयुक्त हुने निर्णय गरेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

देशमा स्थायित्व र आर्थिक समृद्धिको लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य गर्ने गरी भएको सहमति कार्यसम्पादन समितिले अनुमोदन गरेको प्रवक्ता महतले जानकारी दिए ।

‘सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने र आम निर्वाचन गर्न हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने गरी शिर्ष तहमा भएको समझदारीलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको छ,’ बैठकपछि प्रवक्ता महतले सञ्चारकर्मीहरुसँग भने, ‘नयाँ समिकरणलाई बनेपछिको अवस्थामा प्रधानमन्त्रीलाई मार्गप्रसस्त गर्न समितले आग्रह गरेको छ ।’

संविधान संशोधन गर्ने विषयमा दुई दलबीच सहमति भएपनि कुन–कुन दफामा संशोधन गर्ने भन्ने विषयमा बिस्तृतमा छलफल हुने महतले बताए ।

प्रधानमन्त्रीले राजिनामा नदिएमा के गर्नु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा महतले संवैधानिक प्रक्रिया अगाडी बढ्ने बताए ।

‘दुई प्रमुख दल मिलिसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले मार्गप्रसस्त गर्नु हुन्छ भन्ने विश्वास छ,’ महतले भने , ‘यदी त्यस्तो भएन भने संवैधानिक प्रक्रिया अगाडी बढ्छ ।’


क्लिकमान्डु