नयाँ गठबन्धनबारे माओवादी: कांग्रेससँग गुनासो छैन, एमालेले के गर्न खोजेको ?



नयाँ सत्ता समीकरण बने पनि संसद्‍बाट विश्वासको मत लिएर फेरि सरकार बनाउने माओवादीका उपमहासचिव वर्षमान पुनको चेतावनी । एमालेले सरकार फेर्नुको औचित्य सावित गर्नुपर्ने वर्षमान पुनको चेतावनी ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका अर्थमन्त्री वर्षमान पुनले नेकपा एमालेले सत्ता समीकरण परिवर्तन गर्नुको औचित्य सावित गर्नुपर्ने बताएका छन् ।

केही दिनयता एमाले र कांग्रेसका शीर्ष नेताहरुबीच नयाँ सत्ता समीकरणको सहमति भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस क्रममा उनले एमालेले गठबन्धन छाडे पनि प्रधानमन्त्री दाहालले संसद्‍बाट विश्वासको मत लिने दाबी गरेका छन् । सुविधाजनक सरकार छोडेर एमालेले के गर्न खोजेको हो भन्दै उनले प्रश्न समेत गरेका छन् । तर कांग्रेसप्रति आफ्नो कुनै गुनासो नरहेको भन्दै उनले माओवादी र एमालेबीच समस्या नहुँदा नहुँदै सत्ता फेर्न खोज्नुलाई आश्चर्यजनक रुपमा हेरेका छन् ।

मंगलबार एक सञ्चारमाध्यमसँग कुरा गर्दै नेता पुनले भनेका छन्, ‘कांग्रेसलाई केही भन्नु छैन । कांग्रेससित कुनै दुस्मनी पनि छैन । सामाजिक न्याय, समृद्धिको कुरा गर्दा हामी सैद्धान्तिक रुपले एमाले निकट छौं । त्यसले गर्दा हामीबीच समीकरण भएको हो । वामपन्थी मतलाई ख्याल गरेर राजनीतिक स्थिरताका लागि हामी एमालेसँग समीकरण बनाएका हौं । हामी र एमालेबीच कुनै समस्या थिएन । तर अर्को गठबन्धन बन्नुको जवाफ एमालेका साथीहरूले जवाफ दिनुपर्छ । हामीले आर्थिक सृमृद्धि, सामाजिक न्यायमा काम गरौ भनेको हो । सुविधानजनक सरकार छाडेर एमालेले के गर्न खोजेको हो ?’

यद्यपि केपी ओलीले निर्णयमा पुगिनसकेको प्रतिक्रिया दिएको पनि उनको भनाइ थियो । तर यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सहमति भएको कुरा सार्वजनिक गरेको विषयमा उनले एमालेप्रति गुनासो गरेका छन् । तर पनि एमालेले माओवादीसँग नयाँ गठबन्धनको विषयमा कुनै औपचारिक जानकारी नगराएको पनि उनको दाबी छ ।

अर्थमन्त्री पुनले ३० दिनभित्रै आफूहरुले विश्वासको मत लिएर फेरि सरकार बनाउने चेतावनी दिए । यसैबीच कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ नै बुढानीलकण्ठमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाएका छन् ।


क्लिकमान्डु