सहकारी समस्या समाधानका लागि छानबिन समितिले माग्यो राष्ट्रिय राजनीतिक दलहरुसँग सुझाव



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीमा समस्या समाधान गर्न राष्ट्रिय राजनीतिक दलहरुसँग सुझाव माग गरेको छ ।

आज बसेको समितिको आठौं बैठकले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुसँग सुझाव माग्ने निर्णय गरेको समितिका सभापति सूर्य थापाले बताए ।

‘सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि संघीय प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरुलाई समस्याको बुझाई र समाधानको उपाय लिखित रुपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ’ सभापति थापाले भने ।

संगठित रुपमा सहकारीको विकास, प्रबर्धन र व्यवस्थापन गर्न राजनीतिक दलहरु पनि जिम्मेजार भएको उनको भनाइ छ ।

‘सहकारी क्षेत्रमा राजनीतिक दलका विभिन्न व्यक्ति संलग्न भएका छन्’ उनले भने, ‘सहकारीमा शुद्धीकरण गर्न र समस्या समाधान गर्न राजनीतिक दलका नेताहरु जवाफदेही, जिम्मेवार ढंगले छानविन अभियानमा साथ साथै रहनु पर्ने भएर पत्राचार गरेको हो ।’

सहकारी क्षेत्रमा राजनीतिक पनि जोडिएको र सहकारी क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न सुझाव आवश्यक रहेको उनको भनाइ छ ।

समितिले आज राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन), राष्ट्रिय सहकारी बैंकका पदाधिकारीसँग छलफल गरेको छ ।


क्लिकमान्डु