रोल्पा जिप दुर्घटनामा ७ जनाको मृत्यु, बाँकी ७ घाइते



काठमाडौं । रोल्पामा सोमबार बेलुका भएको जिप दुर्घटनामा ७ जना यात्रुको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । अरु ७ जना यात्रु घाइते छन् ।

घाइतेहरुको उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनालगत्तै प्रारम्भिक चरणमा ११ जना घाइते भएको समाचार सार्वजनिक भएको थियो । जिप सडकबाट ४ सय मिटर तल खसेको भन्दै स्थानीयहरुले केही यात्रुको मृत्यु भएको दाबी गरेका थिए । यद्यपि मृतकबारे आधिकारिक पुष्टि भएको थिएन ।

सोमबार बेलुका रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप बुढागाउँमा दुर्घटना भएको हो । दुर्घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला अस्पतालमा लगिएको थियो । घाइतेहरुमध्ये धेरैलाई थप उपचारका लागि भैरहवा लैजाने तयारी भएको छ । स्थानीय प्रहरीका अनुसार जिपमा १४ जना सवार थिए ।


क्लिकमान्डु