सरकारले उठायो २ खर्ब ४४ अर्ब ऋण, वार्षिक लक्ष्यभन्दा ४ अर्ब बढी



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको असार १५ गतेसम्म २ खर्ब ४४ अर्ब ७४ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

महालेख नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यभन्दा बढी आन्तरिक ऋण उठाएको हो ।

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने योजना बनाएको थियो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले तयार गरेको अपरिष्कृत संघीय सरकारको सञ्चित कोषअनुसार असार १५ गतेसम्म २ खर्ब ४४ अर्ब ७४ करोड रुपैयाँ आन्तरिक ऋण उठेको हो ।

‘रोलओभर गेन एमाउन्ट समेत जोड्दा सरकारले निर्धारण गरेको लक्ष्यभन्दा बढी आन्तरिक ऋण उठेको देखिएको हो,’ महालेखा नियन्त्रक कार्यालयका अधिकारीले भने ।

संसदले सरकारलाई २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सीमा निर्धारण गरेकाले सो सीमाभन्दा बढी ऋण उठाउन मिल्दैन ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख दीर्घराज मैनालीकाअनुसार चालु आर्थिक वर्षको असार १५ गतेसम्म सरकारले २ खर्ब ३४ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

‘नागरिक बचतपत्र र वैदेशिक रोजगारीमा जानेका लागि जारी गरिएको बैदेशिक रोजगार बचतपत्रबाट ६ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना थियो,’मैनालीले भने, ‘तर, अहिलेसम्म ५० करोड रुपैयाँको मात्रै बचतपत्र बिक्री भएको छ । अब बाँकी रहेको करिब ५ अर्ब ५० करोड रुपैयाँ बिक्री हुने सम्भावना छैन् ।’

महालेखाको तथ्यांकका विषयमा आफूलाई केही थाहा नभएको मैनालीले बताए ।


क्लिकमान्डु