लेन मिचेर भाइरल बनेको सरकारी गाडीलाई प्रहरीको कारबाही



काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनिरहेको सवारी नियम उल्लंघन गरेको गाडीका चालकलाई नेपाल प्रहरीले कारबाही गरेको छ । लेन अनुशासन विपरीत सवारी चलाएको एउटा कारको भिडियो सामाजिक सञ्जालमा केही दिनदेखि भाइरल बनिरहेको छ ।

उक्त भिडियोको सत्यतामाथि छानबिन गरेपछि प्रहरीले गाडीका चालकले गल्ती गरेको पाइएको भन्दै कारबाही गरिएको जानकारी दिएको छ । प्रहरीले आफ्नो फेसबुक पेजमा पनि उक्त गाडीलाई कारबाही गरिएको कुरा सार्वजनिक गरेको छ ।

शुक्रबार साँझ सातदोबाटोबाट ग्वार्कोतिर जाने क्रममा आकासे पुल अगाडि उक्त गाडीले सडकको डिभाइडर नै नाघेर लेन परिवर्तन गरेको भिडियो सार्वजनिक भएको थियो । आइतबारसम्म उक्त भिडियो भाइरल बनेपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

उक्त गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको पनि पुष्टि भएको छ । प्रहरीले भिडियोको आधिकारिकता पुष्टि गरेपछि आइतबार ललितपुरमा गाडी भेटिएको हो । ललितपुर ट्राफिक कार्यालयले उक्त गाडीलाई नियन्त्रणमा लिएर चालकलाई अनुशासनको कारबाही गरेको छ ।

सरकारी नम्बर प्लेटको बा १ झ ७६७५ नम्बरको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको हो । यससँगै प्रहरीले यस्ता अनियमितताका घटना भएको देखेमा उजुरी वा गुनासो गर्न पनि आम नागरिकहरुलाई आग्रह गरेको छ ।

सवारी चालकले सडक लेन मिचेको खण्डमा पहिलो पटक १ हजार रुपैयाँ जरिवाना तिरेर चालकले बग्गीखानास्थित ट्राफिक कार्यालयमा पुगेर ट्राफिक नियम सम्बन्धी कक्षा लिनुपर्ने नियम छ ।


क्लिकमान्डु