सहकारी ठगीमा श्री लालिगुँरासका अध्यक्ष, सचिवसहित ४ जना पक्राउ



काठमाडौं । ललितपुर महानगरपालिका–३ पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, सीईओसहित चार जना पक्राउ परेका छन् ।

चारै जनालाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृत कुमार अर्याल र सञ्चालक कदमबाबा जोशी प्रधान रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ललितपुरमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधरणलाई आकर्षक ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित अन्य चार जनालाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रमुख भट्टराईले लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखा समितिबिरुद्ध ३ करोड रकम ठगी गरेको जाहेरी परेको जानकारी दिए ।

२०८० चैत १ गते ३ करोड ठगीको आरोपसहित उनीहरूविरुद्ध ललितपुर प्रहरी परिसरमा उजुरी परेको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ ।

पक्राउ परेका अमरदास श्रेष्ठ ३१ बर्ष नेपाल बैंकको मुख्य कार्यालय नयाँ सडकमा चिफ म्यानेजरको रुपमा काम गरेका थिए ।

२०६१ सालमा श्री लाली गुँरास सहकारीको सचिवको रुपमा २ वर्ष काम गरेका उनी २०६४ सालमा सहकारीको उपाध्यक्षको रुपमा ८ वर्ष काम गरेका थिए । २०७४ साल देखि हालसम्म सहकारीको अध्यक्षको रुपमा कार्यरत
छन् ।

यस्तै सचिव सुरेन्द्र भण्डारी २०५६ साल देखि हालसम्म निरन्तर रुपमा श्री लालीगुँरास सहकारी संस्थामा विभिन्न पदमा कार्यरत रहेका छन् । २०५६ साल असोज १५ गते संस्था पुल्चोकमा म्यानेजरको रुपमा प्रवेश गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत, संचालक सदस्य हुदैं हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत रहेका छन् । २०६६ र २०७६ सालमा गरी दुई पटक सहकारी राष्ट्रिय विकास वोर्डको संचालक पदमा काम गरेका छन् ।

राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ संचालक पदमा रहेर करिव ६ वर्ष (२०७२ साल देखि २०७७) काम गरेका छन् ।

यो सहकारीलाई सरकारले फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको छ ।


क्लिकमान्डु