वायुसेवा निगमको लागि जापान सबैभन्दा आकर्षक गन्तव्य, नारिता उडानबाट मात्रै एक चौथाइ आम्दानी



काठमाडौं । नेपाल वायुसेवा निगमको लािग जापान सबैभन्दा आकर्षक गन्तव्य हुँदै गएको छ । निगमले विगत ४ वर्षदेखि काठमाडौंबाट जापानको नारिता विमानस्थलमा नियमित उडान गर्दै आइरहेको छ ।

निगमले वाइडबडी जहाजमार्फत गर्ने यो गन्तव्यबाट भएको उडानमा मासिक ४६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । निगमकाे तथ्यांकअनुसार निगमको कुल अन्तर्राष्ट्रिय उडानको आम्दानीमा काठमाडौं-नारिता उडानले मात्रै करिब एक चौथाइ योगदान गर्दछ ।

निगमले सार्वजनिक गरेको वैशाखको तथ्यांक अनुसार काठमाडौंबाट नारिता उड्दा मात्रै ३० करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, नारिता विमानस्थलबाट काठमाडौं फर्कदा भएको आम्दानी भने १६ करोड ६९ लाख रुपैयाँ मात्रै रहेको छ ।

निगमको जहाजले बैशाखमा काठमाडौंबाट नारिता जाँदा ३ हजार ४६६ सय यात्रुलाई सेवा दिएको छ भने नारिताबाट काठमाडौं आउँदा ३ हजार १७७ यात्रुलाई दिएको छ । काठमाडौंबाट नारिता उडानको शुल्क नारिता काठमाडौंको उडान शुल्क भने कम छ ।

वायुसेवा निगमको हाल उडान गरिहेका गन्तव्यमध्ये नारिता सबैभन्दा बढी आकर्षक मानिएको छ । निगमले सार्वजनिक गरेको द्वैमासिक प्रतिवेदन अनुुसार चैत र वैशाखमा मात्रै नारिता जाँदा ५९ करोड र नारिताबाट फर्कदा ३२ करोड रुपैयाँ आम्दानी भएको देखाएको छ ।

यसैगरि, निगमले काठमाडौंबाट यूएईको दुबइमा गरेको उडानबाट पनि मासिक करिब २० करोड रुपैयमाँ आम्दानी गरेको छ । निगमले गरेको यस्तो आम्दानीमा दुबइमा यात्रु लैजादाँ १४ करोड १८ लाख र दुबइबाट काठमाडौं यात्रु ल्याउँदा ५ करोड ४१ लाख रुपैयाँमात्रै कमाएको पनि सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा विभिन्न ११ वटा गन्तव्यबाट मासिक गर्ने आम्दानी भने १ अर्ब ५१ करोड रुपैयाँ छ । निगमले मासिक विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा दिएको उडानबाट ५० हजार यात्रुलाई सेवा दिएको छ । यी यात्रुमध्ये काठमाडौंबाट जानेको तुलनामा फर्कनेको संख्या भने कम छ ।

निगमले दिएको सबैभन्दा बढी यात्रु सेवा काठमाडौंबाट भारतको दिल्लीका लागि उडानमा छ । दिल्लीमा निगमले मासिक ८ हजार यात्रुलाई सेवा दिएको छ भने दिल्लीबाट काठमाडौैं फर्कने यात्रु पनि ८ हजारकै हाराहारीमा छन । तर, दिल्लीबाट निगमले मासिक १८ करोड रुपैयाँ मात्रै कमाएको छ । यो गन्तव्यबाट निगमले वैशाखसम्मको दुई महिनामा ३५ करोड रुपैया कमाएको छ ।

निगमले काठमाडौंबाट नारिता, दुबइ, दिल्ली, बम्बइ, बैंग्लोर, क्वालालम्पुर, दोहा, बैंकक, हङकङ र साउदी अरबमा नियमित उडान गर्दै आएको छ ।


क्लिकमान्डु