औपचारिक अनौपचारिक क्षेत्रबाट असार १५ मा डेढ अर्बको दहिको व्यापार



काठमाडौं । असार १५ को दिन मनाइने धान दिवसको अवसरमा शनिबार मात्रै औपचारिक क्षेत्रबाट १ अर्ब ५ करोड ४० लाख रुपैयाँबराबरको दहिको व्यापार भएको छ ।

यसबाहेक अनौपचारिक क्षेत्रबाट पनि करिब ५० करोड रुपैयाँबराबरको दहिको व्यापार भएको छ ।

दुग्ध विकास संस्थान(डीडीसी), नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघको तर्फबाट मात्रै यो परिमाणमा दहि बिक्री भएको हो ।

उक्त तीन निकायबाट शनिबार मात्रै ६२ लाख लिटर दहि बिक्री भएको अनुमान गरिएको छ । औसत १७० रुपैयाँ प्रतिलिटरका दरले दहि बिक्री भएको नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए ।

यसबाहेक भक्तपुरको जुजु धौ धौका साथै देशभरको टोल टोलमा दर्ता वेगर सञ्चालनमा रहेका पोके डेरीबाट समेत कम्तिमा ५० करोड मूल्यबराबरको थप दहि बिक्री भएको अध्यक्ष दाहालले जानकारी दिए ।

डेरी उद्योग संघका पूर्व अध्यक्ष अरनिकोराज भण्डारीकाअनुसार असार १५ को दिन सामान्य दिनभन्दा १० दोब्बर दहिको बिक्री हुन्छ । सामान्य दिनमा दैनिक औपचारिक क्षेत्रबाट ७ लाख २७ हजार लिटर दहिको खपत हुन्छ ।


क्लिकमान्डु