टेलिकमको पीएसटीएन र एडीएसएल सेवालाई स्तरोन्‍नति गर्दै कपर नेटवर्क बन्द



काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टु द होम) नेटवर्कमा पूर्ण रुपमा स्तरोन्नति गर्नुका साथै कपर नेटवर्क बन्द (सट डाउन)गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएको छ ।

शुक्रबार दूरसञ्चार कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरिन् । यस अवसरमा प्रबन्ध निर्देशक पहाडीले नेपाल टेलिकमले समय अनुसार नयाँ प्रविधिलाई अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइने बताइन् ।

यस्तै नेपाल टेलिकमप्रति सेवाग्राहीहरुमा भएको सकारात्मक धारणालाई चीरस्थायी बनाउनका लागि कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नुपर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुली लगायत विभिन्न वक्ताहरुले कम्पनीले हाल विभिन्न स्थानमा स्तरोन्नति कार्य जारी राखेको भन्दै ग्राहकलाई गुणस्तरीय सेवा दिन सबैले आत्मसात गर्नुपर्ने बताए ।

दूरसञ्चार कार्यालय, नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा ५ हजार क्षमताको एक्सचेन्ज निर्माण भई २०४० पुस १४ गते उद्घाटन भएको जानकारी दिँदै हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको बताएका थिए ।

एफटीटीएच प्रविधि अन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमले देशभर रहेको पुरानो कपर प्रविधिलाई विस्थापन गरिरहेको छ ।


क्लिकमान्डु