कर्णाली करिडोर प्रसारण लाइन निर्माण सुरु



काठमाडौँ । कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरे । कर्णाली करिडोर (फुकोट–बेतन–दोदोधारा) चार सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य, मन्त्रालयका सहसचिव, कैलालीका जनप्रतिनिधिलगायत स्थानीय निकायका प्रमुख एवं प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीका अनुसार, फुकोट–कर्णाली, बेतन–कर्णाली, तिला एक र दुईलगायतका आयोजनाबाट उत्पादित करिब तीन हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सकिनेछ ।

मुलुकको विद्युत मागलाई सम्बोधन गर्ने र विद्युत् निर्यात गर्ने लक्ष्यसहित सरकारी स्वामित्वको उक्त कम्पनीबाट निर्माण हुन लागेको डबल सर्किट प्रसारण लाइन राष्ट्रिय रुपान्तरणकारी आयोजनाका रुपमा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको ‘प्रसारण हाइवे’का रुपमा रहेको यस आयोजनाको निर्माणबाट सुदूरपश्चिमका अन्य पूरक पूर्वाधारको विकास भई समग्र देशको विद्युत् विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

कूल एक सय २५ किलोमिटर लामो प्रसारण लाइन आयोजना कर्णाली प्रदेशको कालीकोट रेङ्गिलबाट सुरु भई अछाम, सुर्खेत हुँदै कैलालीको दोदोधारा सबस्टेशनमा जोडिने छ । त्यहाँबाट पूर्वतर्फ बुटवल, पश्चिममा अत्तरिया एवं दैजी र दक्षिणतर्फ अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरेलीमा जोडिने छ । त्यसमा दुई सय ५६ वटा टावर रहने छन् । उक्त प्रसारण लाइन आयोजनामा दक्षिण एसियाकै लामोमध्येको करिब एक हजार तीन सय ५० मिटर लामो नदी पार गराउनुपर्ने छ । त्यसमा करिब एक सय २० मिटर अग्ला दुई वटा टावर निर्माण गर्नुपर्ने छ ।

आयोजना प्रबन्धक बिकेन बज्राचार्यका अनुसार प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी कलपत्रु प्रोजेक्ट इन्टरनेशनल लिमिटेडसँग गत वर्ष ठेक्का सम्झौता भएको हो । आयोजनाको कूल लागत रु आठ अर्ब बराबर छ । आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन, इञ्जिनियरिङलगायत टावर परीक्षणका काम सम्पन्न भइसकेका छन् । आयोजना निर्माण सुपरीवेक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीलाई नियुक्त गरिएको छ । टावर निर्माणका लागि कालीकोट, सुर्खेत, अछाम र कैलालीमा जग्गा अधिग्रहणको काम भइरहेको आयोजना प्रबन्धक बज्राचार्यले जानकारी दिए ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदी बेसिनमा उत्पादन हुने विद्युत् जम्मा गरी स्वदेश तथा विदेशी बजारमा पु¥याउने लक्ष्यका साथ आयोजना सुरु गरिएको बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकासको मुख्य सम्वाहक रहेको उल्लेख गर्दै उनले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको यो आयोजनाले ह्विलिङ चार्ज (प्रसारण शुल्क) मार्फत आफ्नो आयसमेत पहिचान गरेको उल्लेख गरे ।

कम्पनीको आयमा आत्मनिर्भर हुनेगरी तयार गरिएको मोडालिटीको ऊर्जामन्त्री बस्नेतले सराहना गरे । भेरी र सेती करिडोर चार सय केभी प्रसारण लाइन आयोजनासमेत निकट भविष्यमा निर्माण थालनी गर्न लागिएको जानकारी दिँदै मन्त्री बस्नेतले सकेसम्म कम वातावरणीय क्षति हुने सरकारको उद्देश्यअनुसार कार्य अगाडि बढाइने बताए । “सरकारले साझा प्रसारण लाइन निर्माण गर्न सहजीकरणका लागि नीतिगत सुधार गरिरहेको र प्रसारण लाइनको क्षेत्राधिकारभित्र पर्ने जग्गाहरुको क्षतिपूर्ति निर्धारण गर्दा स्थानीयलाई उत्प्रेरित गर्नेगरी निर्धारण गरिने छ”, उनले भने,“सामाजिक सुरक्षा र उत्तरदायित्वअन्तर्गतका कार्यक्रमसमेतले स्थानीयलाई आयोजनाको अपनत्व लिन टेवा पुर्‍याउने छ ।”

ऊर्जामन्त्री बस्नेतले सरकार सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेकाले समयमा नै आयोजना निर्माण सम्पन्न गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड तथा निर्माण व्यवसायीलाई आग्रह गरे।


क्लिकमान्डु