टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका सांसद बस्नेतले भने: २५ अर्ब घोटाला रोकियो



काठमाडौं । टेरामक्स खरिद प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको दाबी गरेका छन् ।

क्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन् ।

टेरामक्स भीओआईपी प्रकरणलाई रोक्ने विधि भएको उनले बताए ।

‘टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआईपी प्रकरणलाई नियन्त्रण गर्छ, संसारभरी यही विधिले नियन्त्रण गरेको छ र ठगी गर्ने धन्दा भएको छैन,’ उनले भने, ‘ नेपालमात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्ब भन्दा बढी राजस्व घोटाला भएको छ । यदि यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने भीओआईपी प्रकरणलाई रोक्ने विधि होइन भने विधि के हो त ? संसारभरी विधि हुने यहाँचाहीँ विधि नहुने के हो त ? मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ ।’

सांसद बस्नेतले कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताए ।

‘२५ अर्ब बार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, थेग्ने अथवा डाइर्भट गर्न खोजेको हो यो भविष्यले बताउला,’ उनले भने,’ टेरामक्स नेपालमा अर्बौ रुपैयाँ राजस्व जोगाउने मन्त्र हो । फर्मुला हो । यो नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ ।’

आफूले आँट गरेर सो विधिको सुरुवात गरेको उनको भनाइ छ । आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने उनले बताए ।

‘टेरामक्समा ३ जना सांसदहरुको नाम मुछिएको छ । यसको बारेमा कुरा उठाउने गरेका छन् बेलाबेलामा । एकदम कलिला, कलिला ओठ निचरे दुध आउने माननीयज्युहरुदेखि लिएर दाह्री जुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु,’ सांसद बस्नेतले भने ।

सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठूलो संस्था भएको पनि बताए ।


क्लिकमान्डु