गुगलले अब नेवारी भाषा पनि अनुवाद गर्ने



काठमाडौं । नेपालका आदिवासी समुदायले बोल्ने र लेख्ने नेवारी भाषा (नेपाल भाषा) अब गुगलले अनुवाद गर्ने भएको छ । सर्च इन्जिन गुगलले अनुवाद गर्न १ सय १० वटा नयाँ भाषा पुर्‍याउँदा नेवारी भाषा थपेको हो ।

मंगलबार साँझदेखि नेवारी भाषालाई पनि पहिचान गरी अंग्रेजीसहित अन्य भाषाहरुमा अनुवाद गर्न मिल्ने भएको हो । विश्वभर ७ हजारभन्दा धेरै भाषाभाषीहरु रहेकोमा गुगलले भने १ सय ९ वटा भाषालाई मात्रै पहिचान गर्दै आएको थियो ।

पछिल्लो पटक गुगलले नेवारी भाषालाई थपेर अनुवाद गर्ने १ सय १० वटा भाषा पुर्‍याएको हो । गुगलको यस्तो निर्णयपछि नेवारी भाषा संस्कृतिको क्षेत्रमा काम गर्ने सञ्चारकर्मी राजेन मानन्धरले खुसी व्यक्त गर्दै लेखेका छन्, ‘गुगल ट्रान्सलेटले मेरो स्थानीय भाषालाई पनि समेटेको छ । अहिले म जे लेखें त्यसलाई अरु भाषामा र विदेशी भाषाहरुमा जे लेखेँ त्यसलाई नेपालभाषामा अनुवाद गर्न पाएकोमा खुसी छु ।’

मानन्धरले नेवारी भाषामा एक प्याराग्राफ लेखेर परीक्षण अनुवाद गराएर पनि सार्वजनिक गरेका छन् । उनले स्टाटसमा लेखेकै शब्दहरुलाई अनुवाद गुगल अनुवाद गराएर सार्वजनिक गरेका छन् ।

गुगल ट्रान्सलेटर एप सबैभन्दा पुरानो ट्रान्सलेटर एप हो । यसपटक वर्ल्ड नेवा अर्गनाइजेसनको पहलमा नेपाल भाषालाई गुगल ट्रान्सलेटरमा समावेश गर्न लागिएको हो । गुगल ट्रान्सलेटरले संस्कृत भाषालाई पनि अनुवाद गर्दै आएको छ ।


क्लिकमान्डु