हुलास वायरको व्यापार पूरानै लयमा फर्कियो, ९ महिनामै साढे ६ अर्बको कारोबार



काठमाडौं । गोल्छा ग्रुपद्वारा सञ्चालित हुलास वायर उद्योगको व्यापार पूरानै लयमा फर्किएको छ । अर्थतन्त्रमा देखिएको संकुचनकाबीच पनि हुलास वायरको व्यापार उल्लेख्य मात्रामा बढेको हो ।

उद्योगले गत वर्षभरी गरेको व्यापारभन्दा बढी चालु आर्थिक वर्षको ९ महिनामै व्यापार गरेको छ । पछिल्लो समय उद्योगले आफ्नो उत्पादन निर्यात बढाएको छ ।

सरकारले उद्योगको क्षमता विस्तार गर्ने नीति लिएपछि उद्योगीहरुले लगानी थपेर आफ्नो क्षमता बढाएका थिए ।

उद्योगले चालु आर्थिक वर्षको ९ महिना अर्थात् २०८० चैतमसान्तसम्ममा ६ अर्ब ५२ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । जबकी, आर्थिक वर्ष २०७९/८० मा जम्मा ६ अर्ब ५ करोड रुपैयाँको ब्यापार गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको उद्योगले २०७८/७९ मा २१ प्रतिशतले घटेर ३ अर्ब ८२ करोड ५० लाख रुपैयाँमा खुम्चिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा उद्योगले ५ अर्ब ७ करोड र २०७५/७६ मा ७ अर्ब ९० करोडको व्यापार गरेको थियो ।

कम्पनीले हुलास ब्रान्डमा जीआई तार, टीएमटी बार, बार सिट र अन्य मेटल र स्टिलजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा चर्चित हुलास ब्रान्डमा स्टिलजन्य वस्तु बिक्री वितरण गर्दै आएको कम्पनीले सन् १९७९ बाट उत्पादन सुरु गरेको थियो । कम्पनीमा इशान गोल्छाको २९ प्रतिशत र राज्यलक्ष्मी गोल्छाको १७ प्रतिशत स्वामित्व छ । बाँकी ५४ प्रतिशत पनि गोल्छा परिवारभित्रकै व्यक्तिगत २२ जनाको स्वामित्व छ ।

कम्पनीले आफ्नो उत्पादन आन्तरिक बजारमा मात्रै नभएर भारतमा पनि निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक ५५ हजार मेट्रिक टन जीआई वायर, ६० हजार मेट्रिक टन टीउमटी बार, ३६ हजार मेट्रिक टन ट्युब मिल्स र १८ हजार मेट्रिक टन गाबिवन बक्स र १६ हजार ८५० मेट्रिक टन रिब्डरएजबीरबार्ब्ड वायर, कपर अलोइ र जस्तापाता उत्पादन गर्दै आएका छन् ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५ अर्ब २७ करोड ८६ लाख रुपैयाँको रेटिङ गराएछ । जसमध्ये कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ करोड २५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब १९ करोड ६१ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु