नियामक नभएका विदेशी कम्पनीको शाखालाई नेपालबाट नाफा लैजान सहज



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा शाखा खोलेका विदेशी कम्पनीलाई प्रतिफल फिर्ता लैजाने बाटो सजिलो बनाएको छ ।

केन्द्रीय बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्रमा २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले विदेशी लगानीअन्तर्गत नपर्ने विदेशी संस्थाको नेपालमा स्थापित शाखाको रिप्याट्रियसन सम्बन्धि व्यवस्था खुकुलो बनाएको हो । ती शाखाको रिप्याट्रियसनका लागि रकम र आर्थिक वर्ष खुल्ने गरी सम्बन्धित नियामक निकायको सिफारिस आवश्यक हुन्थ्यो । नियामक यकीन हुन नसकेका व्यवसायलाई भने यसरी प्रतिफल लैजान अप्ठेरो थियो ।

अब भने नियामक नभएका कम्पनीलाई स्वघोषणाका आधारमा रिप्याट्रियसन गर्न दिइने भएको छ । रिप्याट्रियसनका लागि केन्द्रीय बैंकले अनुमति दिनुपर्ने हुन्छ ।

आगामी दिनमा स्वघोषणा गरेका कागजबाट सटही सुविधा उपलब्ध हुनुपर्ने बेहोरा पुष्टि हुन आएमा ती कम्पनीको नाफाबाट बैंक तथा वित्तीय संस्थामा राखी आर्जन भएको ब्याजबाहेकको रकममा कर कट्टि गरी बाँकी रकमको रिप्याट्रियसन दिइने छ ।

यो व्यवस्थाबाट आईटी, निर्माण व्यवसायजस्ता प्रत्यक्ष नियामक नभएका क्षेत्रअन्तर्गत पर्ने विदेशी संस्था लाभान्वित हुनेछन् ।


क्लिकमान्डु