धितोपत्र बोर्डको अध्यक्ष अझै टुंगो लागेन



काठमडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिको बैठक बिना निष्कर्ष सकिएको छ ।

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिलाई महान्यायाधिवक्ता कार्यालयले जवाफ पठाएपछि बसेको बैठक बिना निष्कर्ष सकिएको हो । समितिले बुधबार कुनै पनि निर्णय नगरेको बताइएको छ ।

अध्यक्ष नियुक्त गर्न नसकेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित सुझाव मागेको थियो । गत बिहीबार अर्थ मन्त्रालयमार्फत महान्याधिवक्ताको कार्यालयलाई पत्र पठाइएकोमा उक्त पत्रको जवाफ कार्यालयले मन्त्रालयमा मंगलबार पठाएको छ ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये तीन जना अन्तवार्ता तथा प्रस्तुतिका लागि उपस्थित नभएपछि समस्या देखिएको थियो ।

अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्न ३ जना चाहिने कानुनी व्यवस्था छ । सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले मात्रै अन्तर्वार्ता दिएका थिए । बाँकी ३ जना डा नवराज अधिकारी, चिरन्जीवी चापागाई र कृष्ण कार्कीले अन्तर्वार्ता तथा प्रस्तुति दिएनन् ।

तीन जनाले अन्तर्वार्ता नदिएर अध्यक्ष नियुक्ति गर्न समस्या परेपछि समितिले अर्थमन्त्रालय मार्फत कानुनी राय मागेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले दुई जनाको नाम पठाउने नमिल्ने कानुनी व्यवस्था स्मरण गराएको छ । कार्यालयले धेरै अंक ल्याएका एक जनाको नाम थप गर्न वा नयाँ प्रकृयामा जान सकिने भन्दै त्यसमाथि निर्णय गर्ने अधिकार नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिलाई नै दिएको छ ।
त्यस लगत्तै आज बैठक बसेको हो ।

‘धितोपत्र ऐनले मन्त्रिपरिषद्मा ३ जनाको नाम सिफारिस गर्न भनेको छ’ महान्यायाधिवक्ताको कार्यालयले अर्थमन्त्रालयमा पठाएको पत्रमा भनिएको छ,’आवदेन दिएका मध्ये धेरै अंक हुने एक जना थप गर्ने वा समिति नयाँ प्रकृयामा जान सक्छ ।’ समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव र एक जना विज्ञ सदस्य रहेका छन् ।


क्लिकमान्डु