उत्पादन क्षमता झन्डै दोब्बर बनाएको मुरारका समूहको पशुपति स्टिलको व्यापार घट्यो



काठमाडौं । उत्पादन क्षमता झन्डै दोब्बर बनाएको पशुपति स्टिलको व्यापार घटेको छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण मागमा कमी आउँदा स्टिलको ब्यापार घटेको हो ।

व्यावसायिक घराना मुरारका समूहद्वारा सञ्चालित पशुपति आइरन एण्ड स्टिल प्रालिले चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्ममा २ अर्ब २ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । जबकी, आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ६८ करोड ५० लाख रुपैयाँको ब्यापार गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब २० करोड २ लाख, २०७७/७८ मा २ अर्ब १९ करोड ९० लाख, २०७६/७७ मा १ अर्ब ४१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा वार्षिक ६७ हजार ५०० मेट्रिकटन स्टिल उत्पादन क्षमता भएको यो उद्योगले वार्षिक उत्पादन क्षमता बढाएर १ लाख १० हजार मेट्रिकटन पुर्यायो । क्षमता बढाउँदा उत्पादन लागत घट्न गई दीर्घकालीन फाइदा हुने विश्लेषण गरिएको थियो । तर, थप लगानी र उत्पादन क्षमता बढाए अनुसारको व्यावार बढ्न नसक्दा कम्पनीको नगद प्रवाहमा दबाब परेको छ । आर्थिक वर्ष २०७९/८० मा ५ प्रतिशत रहेको चालु पुँजी कर्जा आर्थिक वर्ष २०८०/८१ मा बढेर ४० प्रतिशत पुगेको छ।

व्यापार घटेसँगै कम्पनीले ऋणको सीमा पनि घटाएको छ । गत आर्थिक वर्षमा ३ अर्ब २ करोड ऋणको रेटिङ गराएको कम्पनीले चालु आर्थिक वर्षमा ९० करोडले घटाएर २ अर्ब ४० करोड रुपैयाँमा झरेको छ । सन् १९९३ देखि सुनसरीमा सञ्चालनमा रहेको यो उद्योगमा मुरारका समूहका अशोक मुरारका, प्रदीप मुरारका, पशुपति मुरारका र महेश कुमार मुरारकाको २५ प्रतिशतका दरले बराबर हिस्सेदारी छ।

‘अर्थतन्त्र र निर्माण क्षेत्रमा हालको मन्दीका कारण चालु आर्थिक वर्षमा बिक्रीमा गिरावट आएको छ, जुन चिन्ताको विषय बनेको छ,’ रेटिङ एजेन्सीको विश्लेषण छ- ‘अमेरिकी डलरमा कच्चा पदार्थको खरिद, घरेलु मुद्रामा बिक्रीलाई ध्यानमा राखेर यो उद्योगलाई विदेशी मुद्रा जोखिममा पनि परेको छ।’

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बजेटले आर्थिक ऐन २०७७/७८ मा संशोधन गरेर स्पन्ज आइरनको भन्सार घटाएको थियो। स्पञ्ज आइरनमा ५ प्रतिशतबाट घटाएर शून्यमा झारेको थियो भने बिलेटको आयातमा प्रति केजी २.५ रुपैयाँ अन्तःशुल्क लगाउने व्यवस्था गरेको थियो । तर, आर्थिक वर्ष २०८१/८२ को बजेट व्यवस्थाले स्पन्ज आइरनमा भन्सार महसुल बढाएर बढाएको छ ।

स्पञ्ज आइरनमा भन्सार घटाउने नीतिले लगानी थप गरेका स्टिल उद्योगहरु एकातिर पूर्ण क्षमतामा चल्न सकिरहेका छैनन् भने अर्कातिर वर्षमन पुनको बजेटले भन्सार महशुल बढाइदिँदा मारमा परेका छन् ।


क्लिकमान्डु