गृहमन्त्रीले सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका इन्स्पेक्टरलाई महोत्तरी सरुवा गरे: विश्वप्रकाश



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई गृहमन्त्री रवि लामिछानेले सरुवा गरेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा महामन्त्री शर्माले २०८० भदौ ८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा हाजिर भएका इन्स्पेक्टर सूर्यबहादुर मगरलाई एक वर्ष पनि काम गर्न नदिइ गृहमन्त्री लामिछानेले महोत्तरी सरूवा गरेको उनले बताए ।

गृहमन्त्रीले संसदमा पहिला मन्त्रीहरुले अनुसन्धान गर्ने र अहिले प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि अनुसन्धानमा संलग्नलाई सरुवा गरेको उनको भनाइ छ ।

‘गृहमन्त्रीजीले जेठ ६ गते यो संसदमा उभिएर भन्नुभएको थियो, पहिले पहिले मन्त्रीहरूले अनुसन्धान गर्थे, अहिले प्रहरीले गर्छ। अनि अनुसन्धान गरिरहेका प्रहरीलाई पहिले पहिले सरूवा गरिन्थ्यो, अहिले सरूवा गरिँदैन,’ शर्माले भने, ‘उहाँले संसदको रोस्टममा उभिएर ठाडै झुट बोल्नुभएको थियो । जेठ ६ गतेभन्दा ठिक १० दिनअगाडि नेपाल प्रहरीले ५१९ जना इन्स्पेक्टरहरूको सरूवा गरेको थियो । त्यो सूचीको ५०३ नम्बरमा एउटा नाम छ, सूर्यबहादुर राना मगर । प्रहरी नियमावली २०७१ अनुसार सामान्यता सरूवा गरिएको ठाउँमा प्रहरीलाई एक वर्ष काम गर्न दिइन्छ ।’

इन्स्पेक्टर मगरले सूर्यदर्शनबारे छानबिन गरिरहेको तर समय नपुगी उनको सरुवा गरिएको शर्माको भनाइ छ ।

मगर कास्की प्रहरी कार्यालयमा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत रहेको शर्माको भनाइ छ । ‘गृहमन्त्रीजी हिजो मालिक रहेको सूर्यदर्शन सहकारी त्यही कास्कीमा छ, जसउपर छानबिन चलिरहेको छ । मगर त्यही छानबिन गर्ने एउटा इन्स्पेक्टर थिए । तर मगरलाई समय नपुगीकनै हटाइयो । उनलाई वैशाख २६ गतेको निर्णयबाट डाँडा कटाएर महोत्तरी पठाइयो । यही रोस्टममा उभिएर प्रहरी इन्स्पेक्टर चलाउँदैनौं भन्नुहुन्थ्यो यत्तिको झुट बोल्न गृहमन्त्रीले रोस्टम प्रयोग गर्न पाउने कि नपाउने ?’

शर्माले सूर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च अदालतको बहस सुन्नका लागि पोखराबाट काठमाडौं आए पनि सरकारले बहस सुन्न रोकेको बताए ।


क्लिकमान्डु