आधा करोड ठगेर महिला मजदुर सहकारीका अध्यक्षसहित ७ जना फरार



काठमाडौं । बचतकर्ताको करिब आधा करोड ठगेर महिला मजदुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ७ जना फरार भएका छन् ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको महिला मजदुर बचत तथा ऋण सहकारीका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सञ्चालक समिति सदस्यसहित ७ जना फरार रहेका छन् ।

बचतकर्ताको बचत ठगेर सहकारीका अध्यक्ष गुल्मी जिल्ला साविकको धुर्कोट रजस्थल गाविस–१ की सपना विक फरार रहेकी छिन् ।

यस्तै उपाध्यक्ष काठमाडौं महानगरपालिका–२ लायुक बस्ने धनेश बहादुर महर्जन, सचिव काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने रचना श्रेष्ठ, कोषाध्यक्ष रुपन्देही जिल्ला साविकको करहिया गाविस–९ का बिष्णु प्रसाद पाण्डे रहेका छन् ।

यस्तै सहकारीका सञ्चालक समिति सदस्य गुल्मी जिल्ला साविकको वस्तु गाविस–१ का बिनोद बिक, सहकारीका सञ्चालक मिना कुमारी सुनुवार र अर्का सञ्चालक ललितपुर जिल्ला साविकको छम्पी गाविस–२ का रुपेश विश्वकर्मा फरार रहेका छन् । उनीहरुले सहकारीका बचतकर्तालाई आकर्षक ब्याज दिने, आवश्यक परेको समयमा बिना झन्झट पैसा तुरुन्तै दिने भन्दै ठगेको पीडितको अरोप छ ।

बचतकर्ताहरुले पटक पटक पैसा फिर्ता माग्न जाँदा संस्थाका अध्यक्षसहित सञ्चालक फरार बनेको बताइएको छ ।

बचतकर्ताले पैसा फिर्ता नपाएपछि प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सपना विक, धनेश महर्जन, रचना श्रेष्ठ, बिष्णु प्रसाद पाण्डे, बिनोद विक, मिना कुमारी सुनुवार र रुपेश विश्वकर्मालाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) र २ अन्तर्गत कसुरमा २४९ को उपदफा ३ को ग बमोजिम सजाय माग दाबी गरेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै ७ जनाविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ ।


क्लिकमान्डु