मलेसियामा जीबी राई बसेको लोकेसन कन्फर्म भयो: गृहमन्त्री लामिछाने



काठमाडौं । सहकारी ठगी मुद्दाका फरार अभियुक्त जीबी राई मलेसियामा बसेको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । चितवन पुगेर गृहमन्त्री लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

लामो समय जीबीसँग व्यावसायिक साझेदारी गरेका लामिछाने गृहमन्त्री बनेपछि जीबी फरार भएको विषयमा मौन बसेका थिए । बुधबार चितवन पुगेर उनले पत्रकारहरुसँग कुराकानी गर्दै जीबी बसेको स्थन पत्ता लागिसकेको बताएका हुन् । ‘उनी मलेसियामा बसेको पत्ता लागिसक्यो । लोकेसन कन्फर्म भइसकेको छ,’ गृहमन्त्री लामिछानेले भने ।

यसबारे मलेसियाका गृहमन्त्रीसँग पनि आफूले कुरा गरिसकेको उनको भनाइ छ । कुन स्थानमा बसेका छन् भन्ने यकिन भइसकेको उनले बताएका थिए । यद्यपि जीबीलाई कहिले र कसरी पक्राउ गर्ने भन्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

दर्जनभन्दा बढी सहकारी ठगीको मुद्दा खेपेका पूर्व प्रहरी अधिकृत राईसँग लामिछाने पनि राजनीतिमा आउनुअघि सहकार्यमा थिए । जीबीसँग मिलेर लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनमा सहकार्य गरेका थिए । सोहीकारण लामिछाने पनि सहकारी ठगीमा आलोचित रहँदै आएका छन् ।


क्लिकमान्डु