चाँगुनारायणमा खोला, कुलो मासेर सडक निर्माण, स्थानीय आन्दोलित



भक्तपुर । चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक निर्माणको काम थालेपछि स्थानीय आन्दोलित भएका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित भएका हुन् । उनीहरुले नक्सामा १२ देखि १५ फिट रहेको खहरे खोला कुलो, खोल्सा मासेर हिम पाइप राख्ने काम गर्दा बस्ती नै डुबानको चपेटामा परेको गुनासो गरे ।

यस विषयमा जनप्रतिनिधिहरुलाई ध्यानकर्षण गराउँदा समेत जबरजस्ती रातको समयमा काम गर्ने गरेको आरोप स्थानीयको छ।

स्थानीय मनोज केसीले खोलालाई हिमपाइपमा राख्दा बस्ती जोखिममा पर्ने बताए ।

खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माण भएको बिरोधमा स्थानीय मात्रै नभई केही जनप्रतिनिधीसमेत आन्दोलित भएका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं २ का वडा सदस्य उमेश प्रधान र महिला सदस्य राधादेवी गैडाले आफूहरुको बिरोधका बाबजुत पनि वडा अध्यक्ष सोमप्रसाद प्रधानको एकलौटी निर्णयबाट जबरजस्ती काम भएको आरोप लगाए ।

नगरपालिका र वडाको योजनाअनुसार तीनवटा उपोभोक्ता समितिमार्फत काम भइरहेको जानकारी गराउँदै नियम विपरित कुनै पनि काममा हस्ताक्षर नगर्ने भनी बिरोध जनाउँदा तथा नगरपालिकाले रोक्न पत्र काट्दा समेत रातको समय काम हुने गरेको गुनासो गैडाको छ ।

वडा सदस्य प्रधानले नियम विपरित भएको कार्य नरोकिए अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायमा उजुरी हाल्ने चेतावनी दिए ।

वडा सदस्यद्वय प्रधान र गेलालले हिम पाइप निकालेर दाँया बाँया करिडेर निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । चाँगुनारयाण नगरपालिकामा बस्ती विकासको नाममा खोला, कुलो, खोल्सा मासेर हिम पाइप राखि सडक निर्माण गर्ने काम यो नै पहिलो भने होइन ।

यसअघि पनि नगरपालिका भित्रका विभिन्न वडामा यस्ता काम हुँदै आएका छन् । यस विषयमा नगरवासीले बारम्बार ध्यानकर्षण गराउँदा समेत जनप्रतिनिधिहरु र सम्बन्धित निकाय काममा तेल हारेर बस्ने गरेको स्थानीयको आरोप छ ।


क्लिकमान्डु